अत्यधिक गाड़ी भाड़ामाथि शीघ्र नियन्त्रण गरिनुपर्ने माग

0
952

दार्जीलिङ, 21 जनवरीः सङ्घर्ष एवं विकास समिति घूमले दार्जीलिङबाट विभिन्न स्थानको गाड़ी भाड़ामाथि शीघ्र नियन्त्रण गर्ने माग उठाएको छ।

आज यसै माग विषय लिएर समितिले दार्जीलिङका जिल्लापाल, पुलिस अधीक्षक साथै आरटीओसमक्ष ज्ञापन पेश गरेको छ।

यसमाथि प्रकाश पार्दै सङ्घर्ष समितिका महासचिव अरुण छेत्रीले भने, “हाल दार्जीलिङदेखि विभिन्न स्थानका गाड़ीहरूले अत्यधिक भाड़ा लिने गरेका छन्। जसको फलस्वरूप यहाँका आम जनता धेरै मर्कामा परिरहेका छन्। हाल दार्जीलिङदेखि सिलगढ़ीको गाड़ी भाड़ा 200 देखि 500 रुपियाँसम्म लिने गरिएको छ। जसमा 11 जना यात्री नै हाल्ने गरिएको छ। सुकेपोखरीदेखि घूम केवल 12 किलोमिटरको दूरी छ, यहाँको भाड़ा पनि 50 रुपियाँ लिने गरिएको छ। सुकेपोखरीदेखि पोख्रेबुङको दूरी 9 किलोमिटर छ, तर यहाँ पनि 50 रुपियाँ नै भाड़ा लिने गरिएको छ।”

यति मात्रै होइन, सिलगढ़ीदेखि घूमसम्म सामान ल्याएर आउने ट्रकले 5 हजार रुपियाँसम्म भाड़ा लिने गरेको पनि उनले बताए।

“एउटा ट्रकले विगतमा 6 टन ओजनसम्मको सामान बोक्थ्यो भने हाल केवल 5 टन सामान बोक्ने गरेको छ। तर, भाड़ा अति नै बेसी लिइरहेको छ”, छेत्रीले थपे, “यसमाथि जिल्ला प्रशासनले शीघ्र ठोस कार्वाही गर्नुपर्छ। र आम जनतालाई मर्का हुनबाट जोगाउनपर्छ।”

यसै विषय लिएर आउँदो 27 जनवरीका दिन आरटीओले दार्जीलिङका विभिन्न सिण्डिकेटका प्रतिनिधिहरूसित एक बैठक गर्ने भएको पनि सङ्घर्ष समितिले बताएको छ, जसमा समितिले आफूहरूलाई पनि निमन्त्रणा गरियोस् भन्ने अपील गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here