गान्तोक 22 जनवरीः मुख्यमन्त्री पीएस गोलेले बिहीबार नयाँ दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहसित भेट गरी छुटेका समुदायलाई अनुसूचित जनजातिको दर्जा प्रदान गर्ने विषयमा सिक्किम सरकार अनि सिक्किमेली जनताको पक्षबाट ज्ञापन-पत्र बुझाएका छन्।
ज्ञापन पत्रमा छुटेका समुदायका सामाजिक र अर्थनैतिक अवस्थासँगै सांस्कृतिक विशेषता समाजका सबै समुदाय सरह रहेको कुरामाथि ध्यानाकर्षण गराइएको छ।
मुख्यमन्त्रीले धारा 371 एफको प्रावधान, भारत सरकारसँगको विलयको क्रममा छोग्याल, भारत सरकार र निर्वाचित प्रतिनिधिबीचको त्रिपक्षीय सम्झौताको प्रावधानबारे पनि औंल्याएका छन्।
यसरी नै उनले जनजातिको मान्यता पाएका लिम्बू र तामाङ समुदायको सीट आरक्षणका लागि केन्द्रिय गृहमन्त्रीसित अनुरोध गरे।
मुख्यमन्त्रीले राज्यका जनताको आध्यात्मिक आकांक्षाको कदर गर्दै 17औं कर्मापा उर्गेन थिन्ले दोर्जीलाई सिक्किम भ्रमणमा आउने अनुमति दिएकोमा पनि केन्द्र सरकारप्रति आभार प्रकट गरे।
यी मुद्दाबाहेक, मुख्यमन्त्रीले सिक्किमका विभिन्न विषय मामिलामाथि पनि चर्चा गरेको जानकारी नयाँ दिल्लीबाट मुख्यमन्त्रीका सचिव शङ्करदेव ढकालले दिएका छन्।