कालेबुङ, 23 जनवरीः कवितामा दह्रो उपस्थिति जताइसकेका युवा लेखक लेखनाथ छेत्री यसपटक आख्यानमा उदाएका छन्।
उनको पहिलो उपन्यास फुलाङ्गे आज विमोचन भएको छ। कालेबुङमा एक कार्यक्रमबीच आज फुलाङ्गे विमोचन भएको हो।
फुलाङ्गे उपन्यास गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा लेखिएको उपन्यास हो।
यस उपन्यासलाई साङ्ग्रिला बुक्स इन्डियाले प्रकाशित गरेको हो। लेखनाथका अघिबाटै बाउको पसिना र अक्षर अनप्लग्ड गरी दुई कविता सङ्ग्रह प्रकाशित छ।
त्यस्तै पत्रकार रवीश कुमारको ‘द फ्री भ्वाइस’-लाई लेखनाथले अनुवाद गरी ‘मुक्त आवाज’ शीर्षकमा प्रकाशित गरिसकेका छन्।
आजको विमोचन कार्यक्रममा मनप्रसाद सुब्बा, डा. राजेन्द्र भण्डारी, डा. हर्कबहादुर छेत्री, गुप्त प्रधान, समशेर अली, प्रवीण राई ‘जुमेली’ सुधीर छेत्री, सञ्जय बिष्ट, उदय थुलुङ आदि साहित्यकारहरूका उपस्थिति रहेको थियो।
कार्यक्रममा कृतिकार लेखनाथ छेत्री र कवि/कलाकार पुष्कर सिङ्गरको हातबाट फुलाङ्गे विमोचन गरिएको थियो भने कृतिमाथि कवि विनोद प्रधानले समीक्षात्मक टिप्पणी राखेका थिए।
त्यसैगरी उपन्यासलाई लिएर कवि प्रणय शङ्करले लेखकमाथि डिस्कोर्स गरेका थिए भने कवि राजा पुनियानीले उपन्यासमा निहित हस्तक्षेपी प्रारुपमाथि आफ्नो विचार राखेका थिए।
उपन्यासमाथि बोल्दै मनप्रसाद सुब्बाले फुलङ्गेमा लेखनाथले उपन्यासमा आन्दोलनकारी, आन्दोलनविरोधी र प्रशासन पक्षको क्रूरताले आममानिसहरूमाथि पारेको प्रभावलाई राम्रोसित उजागर गरेको बताए।
कार्यक्रममा प्रदीप लोहागुण र भुपेन्द्र सुब्बाले कविता वाचन गरेका थिए।