जाप अब साङ्गठनिक र वैचारिक रूपले सक्रिय बन्ने

0
976

कालेबुङ, 27 जनवरीः जनआन्दोलन पार्टी (जाप) -ले अब आफूलाई साङ्गठनिक र वैचारिक रूपले सक्रिय बनाउने निर्णय गरेको छ। साथै आउँदो विधानसभा चुनाउमा आफ्नो भूमिका र रणनीतिबारे छलफल गर्न चाँड़ै जापको एउटा सभा बसिनेछ। यो सभा आउँदो 8-10 दिनभित्रै हुने बसिने बताइएको छ।

पछिल्लो समय पार्टी निष्क्रिय भएको बताउँदै धेरै कार्यकर्ताले जाप त्यागेर अन्य पार्टीको झण्डा समातेका थिए।

विशेषगरी पछिल्लो लोकसभा चुनाउपछि जाप निष्क्रिय बसेको थियो।

तर जाप प्रमुख डा. हर्कबहादुर छेत्री भने पार्टी निष्क्रिय बनेको कुरालाई स्वीकार गर्दैनन्।

“हामी निष्क्रिय थिएनौँ। पहाड़को राजनीतिक परिस्थितिलाई हेरिरहेका थियौँ”, जनसंवादसँग टेलिफोनिक कुराकानीमा उनले थपे, “जाप चुपचाप बसेको जस्तो देखिए पनि चुपचाप बसेको चाहिँ थिएन। पहाड़को राजनीतिमाथि चिन्तन मनन गरिरहेकै थियो।”

आज छेत्रीकै निवासमा सामान्य कार्यक्रम गरी जापको छैटौँ स्थापना दिवस पालन गरियो। यसअवसरमा कालेबुङका विभिन्न स्थानका 30 देखि 35 कार्यकर्ता जुटेका थिए।

“हामीले आज पार्टीको छैटौँ स्थापना दिवस पालन गऱ्यौँ। यसैअवसरमा आउँदो विधानसभा चुनाउमा पार्टीले के कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसबारे छलफल गर्न छिट्टै एक सभा बस्ने पनि आज निर्णय गरेका छौँ”, छेत्रीले थपे, “त्यस सभामा हामी हाम्रो आगामी कार्यक्रमबारे विस्तृत रूपमा छलफल गर्नेछौँ।”

उनका अनुसार अहिले दार्जीलिङ पहाड़मा जुन प्रकारको राजनीतिक परिस्थिति बनिँदैछ, त्यसले क्षेत्रीय स्वरलाई नै मास्ने काम गर्दैछ।

यसैले क्षेत्रीय स्वरलाई बचाइराख्न पनि जापले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने डा. हर्कबहादुर छेत्रीको ठोकुवा छ।

“चुनावी सक्रियता र आफ्नो सङ्गठनलाई बचाउन सड़कमा भीड़ नारा/जुलूस लगाउने राजनीतिमा हामी विश्वास गर्दैनौँ”, जाप प्रमुखले थपे, “हामी मुद्दालाई वैचारिक रूपमा टुङ्गो लगाउने राजनीतिमा विश्वास गर्छौं। किनभने हाम्रो माग भीड़द्वारा प्राप्त हुने माग होइन। यो त योग्य र क्षमतावान् व्यक्तिहरूले समुचित ठाउँमा सटिक रूपमा उठाउँदा र यसका लागि काम गर्दा फत्ते हुने मुद्दा हो।”

यसैबीच, उनले जापका धेरै कार्यकर्ताले पार्टी त्यागे तापनि कार्यकर्ताहरूको एउटा ठूलो भाग जापसँगै रहेको पनि बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here