कालेबुङ, 27 जनवरीः अखिल भारतीय गोर्खा लीग (अभागोली)-बाट आज निष्कासित गरिएको भनिएका प्रताप खातीले आफ्नो ‘कथित्’ निष्कासनलाई पार्टीको संविधानविरोधी बताएका छन्।
“मलाई पार्टीबाट निष्कासित गर्नेहरू को हुन्? उनीहरूलाई गोर्खा लीगमा ल्याउने नै म हुँ। गोर्खा लीगमा उनीहरू आएको कति नै भएको छ? पार्टीको संविधान उनीहरूले के कति पढ़ेका छन्?”, उनले प्रश्न गरेका छन्।
प्रताप खातीका अनुसार गोर्खा लीगलाई कमजोर बनाउन र बदनाम गर्न नै पार्टीको संविधानसमेत नपढ़ेका एकाध स्वार्थ व्यक्तिहरूले उनलाई निष्कासित गरेका हुन्। किनभने निष्कासित गर्नेहरू ‘बङ्गालका दलालहरू’ रहेको उनको आरोप छ।
“मूर्तिको हिसाबकिताब खोज्छ भनेर यी सब कर्तुत गरिएको हो। तर उनीहरूलाई पार्टीको संविधानसमेत थाह छैन। उनीहरू त बङ्गालका दलालहरू हुन्। गोर्खा लीगलाई कमजोर गर्न यस्तो कर्तुत गरेका हुन्”, खातीले जनसंवादसँगको कुराकानीअवधि भने।
उनले आफ्नो निष्कासनको मुद्दालाई अदालतसम्म लैजाने पनि बताए। साथै आफूले शोकजसम्म नपाएको पनि जनाए।
खातीका अनुसार यदि विक्रमादिहरूले उनलाई शोकज पठाएका थिए, त्यो शोकज कहिले पठाएको थियो, त्यो जनतामा सार्वजनिक गर्नुपर्नेछ।
“मलाई निष्कासित गरिने निर्णय गरिएको बैठकमा 31 जना केन्द्रिय सदस्यहरूमध्ये कतिजनाको उपस्थिति थियो? बैठक कहाँ कसको अध्यक्षमा भएको थियो? उक्त बैठकमा ककसको उपस्थिति थियो”, प्रताप खातीले भनेका छन्, “जसले पनि पार्टीको संविधानविरुद्ध गएर मलाई निष्कासित गरिएको घोषणा गरे, उनीहरूविरुद्ध कानुनी कारबाही गर्नेछु। यो मुद्दालाई म अदालतसम्म लिएर जानेछु।”
अर्कोतिर, एसपी शर्मा र विक्रमादि राईहरूले लगातार पार्टीविरोधी कार्य गरिरहेका कारण पछिल्लो 27 दिसम्बरका दिन उनीहरूविरुद्ध कारबाही गर्नुपर्ने बताउँदै पार्टी अध्यक्ष मीना सुब्बालाई आफूले पत्र पठाएको पनि प्रताप खातीले बताए।
उनको दावीका अनुसार दार्जीलिङ पहाड़को दीर्घकालीन मुद्दाको समाधानका लागि भारत सरकारसँग वार्ता सकारात्मक ढङ्गमा अघि बढ़िरहेको समयमा यसलाई वार्ता दिनका लागि ‘बङ्गालका दलाल’-हरूले यस प्रकारको षड़यन्त्र गरेका हुन्।