दार्जीलिङ, 28 जनवरीः रिम्बिक लोधोमा समष्टिमा करिब 26 किलोमिटरको दुइवटा ट्रेकिङ रूटमा फुटपाथ बनाउन जीटीएले 16 करोड़ रुपियाँ बराबर खर्च गर्न लागेको विषयमा गोरामुमोले आपत्ति जनाएको छ।
यसको सट्टा यति धनराशिको लागतमा रिम्बिक लोधोमा समष्टिमा लगभग 5 वटा बाटो निर्माण गरी कृषिमा निर्भरशील स्थानीय जनतालाई सुविधा दिनुपर्ने पनि माग पनि गरेको छ।
गोरामुमोले दिएको जानकारीका अनुसार, जीटीएले रिम्बिकको मोलेदेखि सबर ग्रामसम्मको फुटपाथ निर्माणका लागि 4 करोड़ 98 लाख रुपियाँ बराबरको राशि छुट्याएको छ भने सिरीखोला ट्रेकर्स हटदेखि मोले फाटकसम्म 10 करोड़ 55 लाखभन्दा अधिकको राशि छुट्याइएको छ।
गोरामुमो दार्जीलिङ शाखाका महासचिव सन्दीप लिम्बुले यसै विषयमाथि जोड़ दिँदै भनेका छन्, “दुइवटा फुटपाथ बनाउने निहुँमा यहाँ व्यापक घोटाला गर्ने दाउ भइरहेको छ। यस योजनाअनुसार, प्रति किलोमिटर फुटपाथ निर्माणको लागत 40 लाख रुपियाँ पर्ने स्पष्ट देखिँदैछ। यति बेसी धनराशिमा सिंहलीला राष्ट्रिय उद्यान परिसरमा किन फुटपाथ बनाउने आवश्यकता छ? किनभने, अधिकत्तर ट्रेकिङ गर्नेहरूले प्राकृतिक बाटोमा नै ट्रेक गर्न रुचाउँछन्, तर यहाँ केवल घोटाला गर्ने उद्देश्यले यहाँको प्राकृतिक ट्रेक रूटमा फुटपाथ बनाउने प्रयास गरिएको हो।”
यसैले यस धनराशिलाई जनताको हितमा खर्च गरेको उचित हुने लिम्बूको भनाइ छ।
अर्कोतिर यसका लागि शीघ्रै पार्टीको एक प्रतिनिधि टोलीले जीटीएका मुख्य सचिवसित भेट गर्ने भएको पनि उनले जानकारी गराए।
“जुन फुटपाथ बनाउनु त्यति आवश्यक पनि छैन। यसको सट्टा सिरीखोला ट्रेकर हटदेखि अप्पर सिरीखोला, बीचगाउँ, फरेष्ट भिलेज, गोर्खे-समान्देन अनि मुसेपाखा-डाँड़ागाउँ जाने बाटो निर्माण गरिदिए यस क्षेत्रका जनतालाई धेरै सुविधा पुग्नेछ साथै यी क्षेत्रका कृषकहरूलाई आफूहरूद्वारा उत्पादन गरिएका उत्पादहरू बेचबिखनका लागि बाहिर लैजान पनि धेरै सुविधा हुनेछ’’, सन्दीप लिम्बूले थपे, “किनभने, हालसम्म यी क्षेत्रका मानिसहरू आफैद्वारा खनेर बनाइएको बाटो भएर हिँड्ने गर्छन्, यदि यी बाटोहरूलाई राम्रोसित बनाइए गाड़ी पनि चल्न सक्नेछ अनि यहाँका कृषकहरूलाई आफ्ना सामानहरू बेचबिखनका लागि बाहिर लान धेरै सुविधा हुनेछ।”
यसैकारण जीटीएले तयार पारेको यस परियोजनालाई खारेज गरी नयाँ परियोजनालाई कार्य रूपमा परिणत गरेको असल हुने उनले बताए, ताकि रिम्बिक लोधोमा समष्टिका जनताले जीटीएको यति धेरै राशिबाट उचित लाभ प्राप्त गर्न सकून्।
लिम्बूले थपे, “यो कार्य गर्नका लागि जीटीएका मुख्य सचिवको नेतृत्वमा नै एक कमिटीको पनि गठन गरिएको छ, जसमा जीटीए सचिव, जीटीएका मुख्य अभियन्तालगायत अन्य सामेल छन्। यसै विषय लिएर पार्टीले शीघ्रै जीटीएका मुख्य सचिवसित भेट गरेर यो काम नगरेर अन्य काम गर्ने अपील गर्ने भएको छ।”
यसका साथै उनले करिब 26 किलोमिटर दूरीको स-सानो फूटपाथ निर्माणका लागि जीटीएले 16 करोड़ रुपियाँ बराबरको परियोजना तयार पारेको देख्दा आफूलाई अचम्म लागेको पनि बताए।