कालेबुङ, 29 जनवरी: आज बिहान राष्ट्रिय राजमार्ग 10 मा दुइ वाहन एकार्कामाझ ठोक्किँदा एउटा वाहनका चालक जलेर खरानी भएको छ।
आसामदेखि आएर सिक्किमको असमबाट सिक्किमको जोरथाङतर्फ गइरहेको एलडीओ तेल ट्याङ्कर र सिक्किमदेखि सिलगढ़ीतर्फ गइरहेको दबाई बोक्ने एसके 01 डी 3477 नम्बरको गाड़ी (कन्टेनर) एकार्कामाझ ठोक्किँदा यो भीषण दुर्घटना भएको हो।
यी दुइ वाहन परस्परमा ठोक्किँदा तेल ट्याङ्करमा आगो लागेको थियो, जसको चपेटमा अर्को दबाई कन्टेनर गाड़ी पनि आयो।
यद्यपि, ट्याङ्करका चालक र खलासी गाड़ीबाट निस्किएर भाग्न सफल बने तापनि दबाईको कन्टेनरका चालक गाड़ीमा नै चेप्टिन पुगे। जसका कारण ती चालक गाड़ीभित्रै जलेर खरानी बने। जानकारीका अनुसार यो समाचाल लेखुञ्जेलसम्म मृतक चालकको परिचय खुलिएको थिएन।
यो दुर्घट्नाको खबर पाउनसाथ नजिकैमा अवस्थित एनएचपीसीको अग्निशमन टोली घटनास्थलमा आएर आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरेको थियो। तर आगो अनियन्त्रित बनिसकेको थियो। जसको कारण केही समयपछि सालुगढ़ाबाट पनि अग्निशमन कर्मचारीहरू आएर आगो नियन्त्रण गर्ने प्रयास गरे। तर त्यसबेलासम्म दुवै गाड़ी जलिसकेका थिए भने कन्टेनरका चालक खरानी बनिसकेको थियो।
जलेर भष्म बनेको दबाई बोक्ने कन्टेनर श्री बालाजी लोजेस्ट ट्रान्सपोर्टको रहेको जानकारी प्राप्त भएको छ।