दार्जीलिङ, 30 जनवरीः दार्जीलिङ पहाड़मा पञ्चायत चुनाउ किन हुँदैन? क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले प्रश्न गरेको छ।
साथै आउँदो बङ्गाल विधानसभा चुनाउसँगै पहाड़मा पञ्चायत चुनाउ पनि गराउनुपर्ने माग पनि (क्रामाकपा)-ले माग गरेको छ।
दार्जीलिङ पहाड़मा पछिल्लो करिब 16 वर्षदेखि पञ्चायत चुनाउ हुनसकेको छैन।
समय समयमा विभिन्न सङ्घ-संस्थालगायत राजनीतिक पार्टीहरूले पहाड़मा पञ्चायत चुनाउको माग गर्दै आइरहेको छ। पञ्चायत चुनाउको माग गर्ने क्रामाकपा पनि एक हो। तर, पञ्चायत चुनाउ भने हुन सकिरहेको छैन।
आज क्रामाकपा दार्जीलिङ आञ्चलिक कमिटीको सभामा पनि पञ्चायत चुनाउबारे विस्तृत छलफल भएको उद्धव खनालले बताएका छन्।
उनका अनुसार सभामा दार्जीलिङ पहाड़मा शीघ्र पञ्चायत चुनाउ हुनुपर्ने मागमा बङ्गाल सरकार र चुनाउ आयोगलाई पत्राचार गर्ने निर्णय गरिएको छ।
2005 देखि नै पञ्चायत चुनाउ हुनसकेका कारण ग्रामीण क्षेत्रका मानिसहरूले अत्यधिक समस्या भोगिरहेको पनि क्रामाकपाको ठहर छ।
अर्कोतिर आजको सभामा दार्जीलिङ पहाड़को वर्तमान राजनीतिक परिस्थिति र पछिल्लोपटक देशका गृहमन्त्री अमित शाहले गोर्खाहरूका सम्बन्धित दुइ मुद्दासम्बन्धमा दिएको वचनबारे पनि छलफल गरिएको थियो।
साथै गृहमन्त्रीले दार्जीलिङका घटक दलहरूका प्रतिनिधिहरूलाई दिएको वचन यथाशीघ्र पूरा हुनुपर्ने कुरामा जोड़ दिँदै घटक दलहरू भाजपाका शीर्ष नेतृत्वलगायत गृहमन्त्रीलाई स्मरण-पत्र पठाउने पहल गर्नुपर्ने क्रामाकपाले अपील गरेको छ।
कृष्णवीर राईको अध्यक्षतामा सम्पन्न दार्जीलिङ आञ्चलिक समितिको आजको सभामा केन्द्रिय समितिबाट पर्यवेक्षकको रूपमा बले डुक्पा, नर्बु लामा, विन्द्या गोतामे, सञ्जिला घिसिङ विशेष रूपले उपस्थित थिए।