गान्तोक, 31 जनवरीः सोरेङ बी.एड. कलेजको भर्ना विवादले सरकारको अपारदर्शी कार्यशैलीलाई उजागर गरेको एसडीएफको विद्यार्थी प्रकोष्ठले बताएको छ।
विद्यार्थी प्रकोष्ठका महासचिव टाशी ग्याछो भोटियाले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी राज्यको शिक्षा विभागद्वारा गलत तरिकाद्वारा विद्यार्थीहरू भर्ना गरिएका विषय उठेको र यो घटनाले सरकारको अपारदर्शी कार्यशैलीलाई उजागर गरेको बताएका हुन्।
‘13 जनवरीको दिन विभागद्वारा जारी सूचीले सोरेङ बी.एड. कलेजमा भर्नाको प्रत्याशा गरिरहेका विद्यार्थीहरूमा क्षोभ सृष्टि गरेको छ। उनीहरूको आरोप छ, विभागको यो कार्य भाइ-भतिजावादको नीतिको आधारमा छ अनि योग्यताको आधारमा भर्ना पाउनुपर्ने विद्यार्थीहरूको विरुद्ध छ’, भोटियाले विज्ञप्तिमा भनेका छन्, ‘विभागद्वारा अन्यबाहेक सीओआई भएका जुन 117 जना विद्यार्थीहरूको सूची जारी गरिएको छ, त्यसमा केवल आवेदन सङ्ख्या उल्लेख गरिएको छ, आवेदकको नाम र प्रतिशत उल्लेख गरिएको छैन।‘
थुप्रै चरणको फलहीन बैठकपछि 20 जनवरीका दिन विद्यार्थीका प्रतिनिधिहरूले शिक्षा विभागका अतिरिक्त मुख्यसचिवसित भेट गर्दा मुख्यसचिवले उक्त चयन ‘सरकारी कोटा’ अनि ‘म्यानेजमेण्ट कोटा’ -को आधारमा गरिएको जानकारी विद्यार्थीहरूलाई दिएको बताउँदै एसकेएम सरकारले यो ‘सरकारी कोटा’ के हो भन्नेबारे स्पष्टीकरण दिनुपर्ने माग पनि गरेका छन्।
‘यो ‘राम्रोले होइन, हाम्रोले पाओस्’ भन्ने पक्षपाती नीति भयो कि भएन? 29 जनवरीका दिन जारी गरिएको नयाँ सूचीले अघिल्लो सूचीमा 50 वटा सीट अवैध ढङ्गमा वितरित गरिएको तथ्य खुलासा भएको छ’, भोटियाले विज्ञप्तिमा भनेका छन्।
उनले विज्ञप्तिमा थप बताएअनुसार हिजो (30 जनवरीका दिन) पहिलो सूचीअनुसार भर्ना पाएका अनि पढ़ाइ पनि आरम्भ गरिसकेका विद्यार्थीहरुद्वारा एउटा भिडियो जारी गरिएको छ, जसमा उनीहरूले एसकेएम सरकारको घोर लापरवाहीका कारण आफूहरूले हठात् आफ्नो भर्ना गुमाउनुपरेकोमा आक्रोश व्यक्त गरेका छन्।
‘यसरी एसकेएम सरकारले पहिलो सूचीमा असङ्ख्य विद्यार्थीहरूलाई योग्यताको आधारमा भर्ना पाउने अधिकारबाट केवल वञ्चित मात्र गरेको छैन, एसकेएम सरकारको अक्षमता अनि पक्षपातपूर्ण नीतिको कारण कलेजमा अगावै भर्ना पाइसकेका विद्यार्थीहरूले आफ्नो सीट गुमाउनुपरेको छ’, एसडीएफ विद्यार्थी प्रकोष्ठका महासचिव टाशी ग्याछो भोटियाले विज्ञप्तिमा थप भनेका छन्, ‘विगत तीन हप्तादेखि उत्तप्त रहेको यस मुद्दाले विभाग अनि सरकारको असक्षमता र अनियमिततालाई उदाङ्गो बनाएको छ। एसडीएफ पार्टी विद्यार्थीहरूले सोरेङ बी.एड कलेजमा पाउनुपर्ने आफ्नो न्यायोचित भर्नाबाट वञ्चित हुनुपरेकोमा कठोर शब्दमा भर्त्सना जनाउँदै सरकारले भर्ना प्रक्रियालाई लापरवाहीपूर्वक चलाएकोले अगावै भर्ना पाइसकेका विद्यार्थीहरूले आफ्नो सीट गुमाउनुपरेकोमा सरकारको निन्दा गर्दछ।‘