दार्जीलिङ, 31 जनवरीः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले भाजपालाई सधैँ साथ दिने सङ्कल्प गरे तापनि यसपालि गोर्खा जातिमाथि विश्वासघात नहोस् भन्ने सन्देश दिएको छ।
आज स्थानीय मोटर स्ट्याण्डमा गोरामुमोका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङको छैटौं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली अर्पण गर्न एक जनभेलाको आयोजन गरिएको थियो।
यसै जनभेलालाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष मन घिसिङले केन्द्रमा सत्तारूढ़ रहेको भाजपालाई यसपालि गोर्खा जातिमाथि विश्वासघात नहोस् भन्ने सन्देश दिए। यद्यपि, उनले दार्जीलिङका सांसद राजु बिष्टले गोर्खा जातिका लागि दिल्लीमा असल कार्य गरिरहेको दाबी गर्दै उनीजस्तो सांसद पाउनु गोर्खा जातिको भाग्य हो भन्ने पनि बताए।
यसैबीच, उनले नाम नलिइकनै विमल गुरुङमाथि कटाक्ष प्रहार गर्दै भने, “लगभग 3 वर्षपछि दार्जीलिङ आएका नेताले हाल ठूल्ठूला कुरा गरिरहेका छन्। आउनुपर्छ आफ्नो घर हो, आफ्नो घर फर्किनु राम्रो कुरा हो, तर झूटो कुरा गर्न बन्द गर्नुपर्छ। तिमीले जनतालाई विश्वासघात गरेका छौ, आफ्नो शिर झुकाएर शिरको टोपी कसैको खुट्टामा झारिसकेका छौ। दार्जीलिङ पहाड़ वा गोर्खा जातिका लागि केही हुने समयमा तिमीले धोका दिएका छौ, तरै पनि अझै समय छ, यदि यो समयमा पनि तिमीले सही निर्णय लिएनौ भने भावी-पिँढ़ीले तिमीलाई माफ गर्नेछैन।”
मन घिसिङले डुवर्सका जनता पनि यता र उता कुदिरहन नहुने बताए।
उनको भनाइअनुसार यसपालि सुनौलो मौका छ।
“यसपालि केन्द्र सरकारले अवश्य नै केही गर्छ भन्ने हामीलाई पूर्ण आशा छ। दिल्लीको केन्द्र सरकार स्थायी राजनैतिक समाधान (पीपीएस)-का लागि गम्भीर छ, अब जनता पनि गम्भीर बन्नुपर्छ”, घिसिङले थपे, “कुनै पनि राजनैतिक पार्टीले गोर्खाल्याण्डलाई मागी खाने भाँड़ा बनाउनु हुँदैन अनि गोर्खाल्याण्डको घोड़ामा जो-सुकै चढ़्न पनि हुँदैन, घोड़ाले नराम्रोघतले पछार्छ।”
यसका साथै उनले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनतालाई विभिन्न राजनैतिक पार्टीसित सतर्क बस्ने सुझाउ दिँदै जनतालाई जुनसुकै नेताहरूको भाषणमा नलाग्ने पनि आह्वान गरे।
यसअघि यस जनभेलालाई सम्बोधन गर्दै दार्जीलिङका विधायक निरज जिम्बाले प्रथममा नै ढाँटेको ढाँटेकै मोर्चाले…..भन्ने गीतमा पार्टीको झण्डा हल्लाउँदै हल्का नाचेपछि उपस्थित भीड़को उनी आकर्षणको केन्द्र बने।
स्मरण गराइन्छ, जितेको जितेको मोर्चाले, हार्नु त कहिले जान्दैन…भन्ने गीत विमल गुरुङपन्थी गोजमुमोले निकै वर्षअघि बनाएको थियो। त्यो गीत गोजमुमोले अझै पनि आफ्ना जनसभाहरूमा बजाउने गरेको छ।
आज त्यसै गीतलाई बिगारेर गोरामुमोले ढाँटेको ढाँटेकै मोर्चाले…..भन्ने गीत बनाएको हो।
यसपछि आफ्नो सम्भाषण प्रस्तुत गर्दै जिम्बाले 2017-मा देशरक्षालाई ध्यानमा राखेर नै दार्जीलिङ पहाड़मा शान्ति कायम गर्न गोरामुमोले वार्ताका लागि राज्य सरकारलाई पत्र लेखेको स्पष्टीकरण दिए।
“हाल 2017-को आन्दोलन बिथोल्ने गोरामुमो हो भन्ने आरोप लागिरहन्छ। किनभने, त्यस समय गोरामुमोले राज्यलाई वार्ता शुरू गर्नका लागि एक पत्र पठाएको थियो। तर, वास्तवमा डोकलाममा चलिरहेको चीन र भारतमाझको विवादलाई ध्यानमा राखेर नै गोरामुमोले आफ्नो दायित्व सम्झेर पहाड़मा शान्ति कायम गर्न राज्यलाई पत्र पठाएको थियो”, जिम्बाले थपे, “तर त्यस विषयलाई आज धेरैवटा पार्टीले नकारात्मक ढङ्गले जनताअघि प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्।”
यसरी नै जनसभालाई सम्बोधन गर्दै पार्टी नेता अजय एड्वर्डले गोरामुमोले अब सत्तामा आएर जनताको सेवा गर्ने सोच बनाएको बताए।