दार्जीलिङ, 31 जनवरीः भोलि अर्थात् 1 फरवरीका दिन ठूलो घोषणा गर्ने गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले ठोकुवा गरेका छन्।
आज दार्जीलिङमा सम्पन्न सङ्कल्प सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो ठोकुवा गरेका हुन्।
“13 दिसम्बरमा हाम्रो मङ्गनी गरिएको दिन हो।आज सङ्कल्प सम्मानले मलाई (मुद्दालाई) घर भित्र्याएको छ। भोलि 1 फरवरीका 2 बजी आफूले आफैलाई सिन्दुर लगाउन जाँदैछु। जबसम्म त्यो सिन्दुकर रहन्छ, म कसैलाई पुछ्नु दिने छुइनँ। भोलि 2 बजी पत्रकार सम्मेलन डाकेको छु। भोलिको पत्रकार सम्मेलन भारतीय गोर्खाका लागि आशाको किरण हुनेछ”, विनयले भने।
गोर्खाहरूको किपटगोर्खाल्याण्ड नै हुने तर भारतभरि बसेका गोर्खाहरूका लागि के छ भन्ने सम्बन्धमा आफ्नो पार्टीको अड़ान के छ त्यो सम्बन्धमा भोलि नै घोषणा गर्ने पनि उनको भनाइ छ।
तामाङले 1949,50-को सन्धिको मुद्दालाई अघि लैजानका लागि पार्टीभित्र 9 सदस्यीय कमिटी बनाएको तथा यीबाहेक दिल्ली र मुम्बईतिर पनि मानिसहरू रहेको बताएका छन्।
साथै पछिल्लो 13 दिसम्बरका दिन आफूहरूले उठान गरेको सन्धिको मुद्दाको जनमानसमा त्यति असर नगरे तापनि दिल्ली, नेपाल र थिम्पुमा भने यो मुद्दाले उथुलपुथुल अवश्यै पारेको विनयले दावी गरे।
“अबउसो मुद्दा पार गर्न हामी कसैलाई विधवा, टुहुरो शहीद बनाउँदैनौँ। विध्वंसकारी राजनीतिक क्रियाकलाप गर्ने छैनौँ। हाम्रो आन्दोलन बौद्धिक आन्दोलन हो। हामीसँग धेरै बौद्धिक व्यक्ति जुटेका छन्। हाम्रो आन्दोलनमा कोही जेल जानु पर्दैन”, तामाङले थपे, “तर यो आन्दोलनले अर्कै रूप लिनसक्छ। हाम्रो मुद्दा गम्भीर छ। यो अन्तर्राष्ट्रिय मुद्दासँग सम्बन्धित छ। यी दुई सन्धिले देशलाई फाइदा होला तर गोर्खा जातिलाई असर पारेको छ। हामीलाई तिरस्कृत नजरले हेर्छ। सन्धि भएको 72 वर्ष भयो। हामी भन्छौँ यो सन्धि मरम्मती गर।”
यसैसम्बन्धमा आउँदो 3 फरवरीका दिन कालेबुङमा विचारगोष्ठी राखेको र क्रमैले खरसाङ र दार्जीलिङमा पनि आयोजना गर्ने जनाए।
अर्कोतिर विनय तामाङले संवैधानिक न्याय संविधानले जन्माउने भन्दै पीपीएस (स्थायी राजनीतिक समाधान)-लाई राजनैतिक दलले जन्माएको एक्रोनिम मात्र बताए।
“हाम्रो लड़ाइँ संवैधानिक न्याय र अन्यायमाझ छ, पीपीएससँग होइन”, उनले भने।
“म चुनाउको भागदौड़मा छुइन। मैले कालेबुङमा घोषणा गरेको थिए, जबसम्मभारतमा सम्पूर्ण भारतीय गोर्खाले संवैधानिक न्याय पाउँदैन, तबसम्म भारतका कुनै पनि चुनाउमा म भाग लिने छुइनँ”, विनयले थपे, “आज जुन कुरा हामी उठान गर्दैछौँ, त्यो मुद्दालाई ठीक ठाउँमा उठाउनु हो भने चुनाउको राजनीतिदेखि बाहिर बसेर काम गर्नुपर्छ। त्यसैले जनताको समस्याका लागि शासन प्रणालीको राजनीति हुनेछ। अनि हामीले बोकेको राजनीति सिद्धान्तिक राजनीति हो। गोजमुमोले पहाड़मा अर्को आयाम थपिदिएको छ, त्यो हो सैद्धान्तिक राजनीतिक।”