मुख्यमन्त्री गोलेद्वारा दुइवटा पूर्वाधारको शिलान्यास

0
858

गान्तोक, 31 जनवरीः राज्यका मुख्यमन्त्री पीएस गोलेले आज (आइतबार) एकैसाथ दुईवटा पूर्वाधार निर्माणका लागि आधारशिला राखेपछि सिक्किम सरकारका विभागद्वय पर्यटन एवम् नागरिक उड्यन अनि स्वास्थ्य एवम् परिवार कल्याण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आधारशिला राखेको अस्पतालको नाम ‘बिर्खबहादुर प्रधान स्मृति अस्पताल’ भनी घोषणा गरेका छन्।

पूर्व सरकारमा 25 वर्षसम्म एउटा अस्पतालमा अक्सिजन प्लान्टसम्म नलगाइएको बताउँदै मुख्यमन्त्री गोलेले तत्कालीन मुख्यमन्त्रीका छोराले नै अक्सिजनको आपूर्ति गर्ने गरेको दाबी गरे।

आफूले राजनीतिलाई व्यापारको रूपमा नलिएको बताउँदै उनले आफ्नो परिवारलाई सम्पन्न बनाउन राजनीति नगरेको मन्तव्य गरे।

पूर्व सरकारले केवल एसटीएनएमको भवन निर्माण गरे तापनि बीलसमेत पूरा नतिरेको आरोप लगाउँदै मुख्यमन्त्रीले वर्तमान सरकारले नै एसटीएनएम अस्पतालमा क्यान्सरको उपचार शुरु गरेको साथै प्रत्येक सामुदायिक स्वास्थ्य केन्द्रमा डायलसिस सेन्टर निर्माण गरिने जानकारी दिए।

उनले सरकारी कर्मचारीहरूका लागि पहिलो चरणमा स्वास्थ्य बीमा गराउने जानकारी दिए।

कर्मचारीबाट दुइसय रुपियाँ लिएर वर्षमा एउटा परिवारका सदस्यहरूलाई 10 लाखसम्मको स्वास्थ्य बीमा गराउने जानकारी दिए।

यसबाहेक मुख्यमन्त्रीले किड्नी ट्रान्सप्लान्टसम्म सरकारले  गराउने बताएका छन्।

उनले दोस्रो चरणमा एड्हक र एमआरका कर्मचारीहरूका लागि यो योजनामार्फत सहयोग पुऱ्याइने अनि त्यसपछि राज्यका सम्पूर्ण जनतालाई यस योजनामा जोड्ने पनि जानकारी दिए।

सरकारले क्यान्सर पीडितहरूका लागि सिक्किममै उपचार गर्ने योजना बनाइरहेको उल्लेख गर्दै जनताको सुविधाका लागि महाराष्ट्रमा पनि सिक्किम सरकारी भवन निर्माण गरिने मुख्यमन्त्रीले बताए।

यसका लागि महाराष्ट्र सरकारले 4 हजार वर्गमिटर जमिन मुम्बईको खरगरमा दिएको उनले बताए।

सिक्किमका 50 जना मेडिकल स्टुडेन्टहरूलाई सरकारले मणिपालमा पढ़ाउने र 30 जनालाई पूर्णरूपमा निःशुल्क पढ़ाइने जानकारी दिँदै उनले सिक्किमको निम्ति मणिपालमा मेडिकल पढ्ने विद्यार्थीहरूका लागि 80 वटा आरक्षण पाइएको जानकारी दिए।

अर्कोतिर, मुख्यमन्त्री पीएस गोलेले सोरेङ-च्याखुङ समष्टिको डाँडा गाउँमा  सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) निर्माणका लागि भूमिपूजा गरेर आधारशिला राखेका छन्।

8 करोड़ 39 लाख 31 हजार रुपियाँको लागतमा निर्माण हुने यस पूर्वाधारको शिलन्यास कार्यक्रममा स्वास्थ्य विभागका मन्त्री एमके शर्मा,  विभिन्न मन्त्रीगण, विधायकगण, सल्लाहकार र अध्यक्षगणसहित जमिनदाता पूर्व मुख्य सचिव पीके प्रधान अनि उनका परिवारको उपस्थिति थियो।

मुख्यमन्त्री गोलेले आजै बिहान मङ्सारी मगरजोङमा मगर जातिको सांस्कृतिक भवन निर्माणका लागि भूमिपूजन गरेका थिए।

यी दुवै ठाउँमा निर्माण हुनगइरहेका पूर्वाधारहरू सोरेङ-च्याखुङ समष्टिमा पर्दछ।

मुख्यमन्त्रीले  आजको दिन ऐतिहासिक भएको र शुभ कार्यको थालनी भएको बताएका छन्।

उक्त दुइवटा पूर्वाधारको विकास गरेपछि मुख्यमन्त्रीले सोरेङ स्कूलको खेल मैदानमा जनभेलालाई सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here