शारदा र रोजभेल्लीजस्तो चिटफण्डलाई बचाउन जुलूस निकाल्ने विनयहरूले गोर्खाल्याण्डका लागि किन जुलूस निकाल्दैनन्? : प्रकाश गुरुङ

0
1374
प्रकाश गुरुङ (फोटो साभार : इन्टरनेट)

दार्जीलिङ, ५ फरवरी : सोमवार भाजपा र सीबीआईविरुद्ध तथा बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको पक्षमा विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले निकालेको प्रतिवाद ऱ्यालीमाथि विमल गुरुङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चा (गोजमुमो)-ले तीखो शब्दमा कटाक्ष गरेको छ।

गोजयुमो अध्यक्ष प्रकाश गुरुङले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गरी शारदा र रोजभेल्लीजस्तो चिटफण्डलाई बचाउन जुलूस निकाल्न सक्ने विनय तामाङहरूले छुट्टै राज्य गोर्खाल्याण्डका लागि किन जुलूस निकाल्न सक्दैनन् भन्ने प्रश्न गरेका छन्।

उनले विज्ञप्तिमा लेखेका छन्, “हामी विनय तामाङहरूलाई प्रश्न गर्नचाहन्छौं, विनय तामाङहरूले रोजभेल्ली र शारदाजस्तो चिटफण्डहरूलाई बचाउन जुलूस लगाउँछन् भने उनीहरूले त्यस्तै जुलूस गोर्खाल्याण्डका लागि किन लगाउँदैनन्? आन्दोलनमा बङ्गालको गोलीले शहीद भएका परिवारले न्याय पाउनुपर्छ भनेर जुलूस किन लगाउँदैनन्? चिटफण्डमा पैसा डुब्ने दार्जीलिङ, खरसाङ, कालेबुङ र तराई-डुवर्सका चिटफण्ड पीड़ितहरूले न्याय पाउनुपर्छ भनेर जुलूस किन लगाउँदैनन्?”

प्रकाश गुरुङका अनुसार मदन तामाङ हत्याकाण्डको मुद्दामा सीबीआईले निष्पक्ष जाँच गरी न्याय दिनुपर्छ भन्ने उनीहरू चाहन्छन्। “हामी चाहन्छौं, शहीदको परिवारले न्याय पाएको हुनुपर्छ”, उनले थपे, “हामी चाहन्छौं विनय तामाङहरूको झूटको राजनीति बन्द हुनुपर्छ।’’

गुरुङले सीबीआईले यो घोटालासम्बन्धित मुद्दामा निष्पक्ष रूपमा तथा बाधारहित काम गर्न पाउनुपर्छ भन्ने आफ्नो पार्टीको माग रहेको बताएका छन्। यसका साथै घोटाला गर्नेहरूलाई बचाउन जुलूस निकाल्ने विनय तामाङहरूसँग चिटफण्ड पीड़ित जनता सचेत रहनुपर्ने आह्वान गरेका छन्।

उनले विज्ञप्तिमा थप लेखेका छन्, “मुख्यमन्त्रीको सुरमा सुर मिलाउँदै सीबीआई र केन्द्रको सत्तारूढ़ पार्टी भाजपाविरुद्ध विनय तामाङहरूले दार्जीलिङमा जुलूस लगाए। विनय तामाङ, अनित थापा, सतीश पोखरेल, आलोक कान्तमणि थुलुङहरूले शारदा र रोजभेल्लीहरूमा पैसा खानेहरूलाई किन सघाउँदैछन्, त्यो उनीहरूले नै जानुन्। तर गोर्खा जनमुक्ति मोर्चा यो मामिलामा ठग कम्पनीहरूको शिकार भएका सबै जनताको पक्षमा उभिएको छ।’’

उनले पार्टी अध्यक्ष विमल गुरुङको नेतृत्वमा पहिला पनि शारदा र रोजभेल्लीजस्ता चिटफण्डहरूविरुद्ध पीड़ितहरूको पक्षमा जीटीए सभामा चर्चा गरिएको र उक्त चर्चामा तत्कालीन जीटीए चीफले पहाड़मा कीर्ते कम्पनीहरू आउनु दिनु हुँदैन भनी स्पष्ट अड़ान राखेको दाबी गर्दै विमल गुरुङपन्थी गोजयुमो अध्यक्ष प्रकाश गुरुङले विज्ञप्तिमा लेखेका छन्, “हामी अहिले पनि त्यही अड़ान लिन्छौं, यी कम्पनीहरूबाट पीड़ितहरूले न्याय पाउनुपर्छ भनी माग गर्दछौं।’’

उनले विज्ञप्तिमा लेखेका छन्, “चिटफण्डको रूपमा चिनिने शारदा, रोजभेल्ली, बसिल, गिताञ्जली यस्ता नामहरू हुन्, जसको नाम सुन्दा दार्जीलिङ, खरसाङ कालेबुङ, तराई र डुवर्सलगायत देशका विभिन्न स्थानका गरीब जनता अहिले पनि तर्सिन्छन्। यी कम्पनीहरूले गरीब जनताको हड्डी चुसेका छन्। रगतको आँसु रुवाएका छन्। गरीब जनताले मजदुरी गरेर खाइ नपाइ बचत  गरेको पैसा केही राजनेताहरूको साँठगाँठमा यी कम्पनीहरूले लुटेर भागेका छन्।”

यी कम्पनीहरूबाट लुटिएका जनताले न्यायको आशा गरेको वर्षौं भएको, तर बङ्गालका तृणमूल राजनेताहरूले लुटाहाहरूलाई बचाउने काम गरिरहेकोले राज्यका पिडित जनताले न्याय नपाएको आरोप पनि लगाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here