कोलकाता, 3 फरवरीः बङ्गालको सत्तामा आँखा गाड़ेको भाजपाले परिवर्तन यात्रा शुरू गर्ने निधो गरेको छ।
जानकारीका अनुसार परिवर्तन यात्रा आउँदो 6 फरवरीदेखि शुरू हुनेछ। त्यस दिन भाजपका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले नवदीपबाट परिवर्तन यात्रा शुरू गर्नेछन्।
आउँदो 11 फरवरीका दिन अमित शाहले कोचबिहार यात्रा गर्नेछ। जानकारीका अनुसार उनले कुल पाँच यात्रा गर्नेछन्।
बङ्गाल भाजपाका अनुसार एक यात्राले 50-60 विधानसभा क्षेत्रलाई कभर गर्नेछ। अन्य तीन यात्राको रूट तय हुन बाँकी छ।
भाजपाले बङ्गालमा परिवर्तन यात्रा गर्ने अठोट गरे तापनि राज्य सरकारले यसका लागि अहिलेसम्म अनुमति भने दिएको छैन।
यदि राज्य सरकारले यात्राको अनुमति नदिएमा अदालत जाने पश्चिम बङ्गाल भाजपा प्रभारी कैलाश विजयवर्गीयले बताएका छन्।
“हाम्रो पाँच परिवर्तन यात्रा निस्किनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीप्रति बङ्गालका जनताको विश्वास छ”, उनले थपे, “हामीले गृहसचिवलाई पत्र लेखेका छौँ। हामी प्रजातान्त्रिक तरिकाले नै अनुमति माग्नेछौँ। तर अनुमति प्राप्त नभए हामी अदालत जानेछौँ।”
भाजपाको परिवर्तन यात्राको समापनमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सामेल हुने सम्भावना छ।
यसैबीच, भाजपाको परिवर्तन यात्राविरुद्ध कोलकाता उच्च न्यायालय याचिका दर्ता गरिएको छ। उक्त याचिका कोलकाता उच्च न्यायालयकै एक उकिलद्वारा दर्ता गरिएको हो।
याचिकामा भाजपाको परिवर्तन यात्राका कारण राज्यमा कानून-व्यवस्था बिग्रिनसक्ने बताइएको छ।
-आजतक