कमल थापाहरूविरुद्ध यथाशीघ्र कड़ा न्यायिक जाँच हुनुपर्ने विनयको माग

0
947

दार्जीलिङ, 4 फरवरी टेट परीक्षा पास गराउन एक परीक्षार्थीलाई तीन लाख रुपियाँ घूस मागेको अडियो कल सोशल मिडियामा भाइरल भएपछि आरोपी कमल थापा र यस गिरोहका मुखियामाथि झट्टभन्दा झट्ट कड़ा न्यायिक जाँच तथा कारावास हुनुपर्ने माग गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले गरेका छन्।

उनले आज एक प्रेसविज्ञप्ति गरी यस्तो माग गरेका हुन्।

‘शिक्षाजस्तो पवित्र माध्यमलाई धाँधलीको अखड़ा बनाउनु

महाअपराध हो। जीटीएको प्राथमिक शिक्षण विषयहरूमा नियुक्ति तथा शिक्षक तालिम विषयमा खरसाङनिवासी जो, पेशागत  शिक्षक हुन् अनि राजनैतिक  रूपमा गोजमुमो विमल खेमाका हुन्-उनले खुल्ला रूपमा डीएल एड कोर्सका लागि एक लाख पाँच हजार र शिक्षक नियुक्तिका लागि तीन लाख मागेको अडियो टेप सार्वजनिक भएका छन्’, विनयले विज्ञप्तिमा भनेका छन्, ‘अब यस 14 मिनट 21 सेकेन्डको अडियोको फोरेन्सिक जाँच गरिएको हुनुपर्छ। अनि यस अडियोमा यस गिरोहका मुखियाहरूका नामहरू पनि कमल थापाले भनेकोले उनीहरूमाथि जाँच साथ साथै कानुनी प्रावधान लागु गरिएको हुनुपर्छ।‘

यसका साथै जीटीए प्रशासन, दार्जीलिङ पुलिस प्रशासन, दार्जीलिङ जिल्ला प्रशासन, जिल्ला स्कुल बोर्ड र शिक्षा विभाग पश्चिम बङ्गाल सरकारले यस विषयमा पूर्ण गम्भीरताको साथमा कानुनी कारबाही गरेको हुनुपर्ने पनि उनको माग छ।

‘जुन बहिनी अडियो टेपमा छ, उ र उनका परिवारलाई पुलिस प्रशासनले सुरक्षा प्रदान गरेको हुनुपर्छ’, उनले भनेका छन्, ’यस विषयमा हेलचेक्राइ भए या यो कुरालाई भित्रभित्र दबाउने कोशिष गरिएमा म मैदान उत्रिनेछु।‘ 

यसैगरी विनयले 2008 को अन्तदेखि 2017 को शुरुसम्म दार्जीलिङ पहाड़मा भ्रष्टाचारले सीमा नाघेको र अब फेरि पुरानै मानसिकता बोकेर आएकाहरूले यस्ता भ्रष्टाचारको गिरोह सञ्चालन गरेर माफिया राज  फैलाइरहेको आरोप पनि लगाएका छन्।

उनले भनेका छन्, ‘दार्जीलिङ पहाड़लाई भ्रष्टाचार मुक्त बनाउनुपर्छ भन्ने मेरो ध्येय थियो। तर, आजको यस घटनाले दार्जीलिङ पहाड़ भ्रष्टाचारको विरामीले ग्रस्त भएको प्रमाणित भयो। अझ यस्ता गिरोहहरू अरू क्षेत्रहरूमा पनि हुनसक्छ-प्रशासनले अब गिद्धे नजर राखेको हुनुपर्छ। यदि कोही पनि यस्ता भ्रष्टाचारहरूमा सम्मिलित छन् भने कड़ाभन्दा कड़ा कानून लागेको हुनुपर्छ। जति लिने दोषी हुन्छ, त्यति नै दिने पनि दोषी हुन्।‘

यसैगरी विनय तामाङले अब दार्जीलिङ पहाड़मा प्रवर्तन निदेशालय र आयकर विभागले सन्दिग्ध व्यक्तिहरूमाथि जाँच अभियान चलाउनुपर्ने पनि बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here