दार्जीलिङ, 11 फरवरीः पश्चिम बङ्गाल सरकारले आज फेरि एक नोटिस जारी गरेर राज्यभरिका गोर्खा जातिका 10 वटा जातलाई जनजातिको मर्यादा प्रदान गर्न केन्द्र सरकारसमक्ष सिफारिश गरेको छ, जसमा भुजेल, गुरुङ, मगर, नेवार, योगी, खस, राई, सुनार, थामी साथै याक्खा देवान सामेल छन्।
यसमाथि खुशी व्यक्त गर्दै विनय तामाङपन्थी गोजमुमो प्रवक्ता केशवराज पोख्रेलले ढाँटेर चुनाउ जित्ने भाजपाले गोर्खा जातिका लागि अहिलेसम्म के गऱ्यो भन्ने प्रश्न गरेका छन्।
यसका साथै गोर्खा जाति वा दार्जीलिङ पहाड़का लागि अहिलेसम्म केही गर्न नसक्ने दार्जीलिङका सांसद राजु बिष्टलाई आफ्नो पदबाट राजीनामा दिने पनि पोख्रेलले माग गरेका छन्।
“हामीले जहिले पनि बङ्गाल सरकारलाई गाली मात्रै गरिरह्यौँ। तर, राज्य सरकारले नै दार्जीलिङ पहाड़लाई धेरै सुविधा प्रदान गरिरहेको छ। राज्य सरकारले दार्जीलिङ हिल विश्वविद्यालय दियो, 11 वटा जातलाई जनजातिको मर्यादा दिनका लागि राज्यको क्याबिनेटले दुइपल्ट अनुमोदन गरेर केन्द्र सरकारलाई पठाएकै हो अनि आज फेरि विभिन्न दैनिक समाचार पत्रमा आधिकारिक नोटिस प्रकाशित गरेर पुनः राज्यभरिका गोर्खालाई जनजातिको मर्यादा दिन केन्द्रसमक्ष सिफारिश गरेको छ अब भाजपा नेतृत्वावधीन केन्द्र सरकार गोर्खा जातिप्रति कति इमान्दार अनि गम्भीर छ, त्यो अघिबाटै स्पष्ट भइसकेको छ”, उनले थपे, “यसैले विभिन्न वाचा गरेर दार्जीलिङबाट लोकसभा चुनाउ जित्ने दार्जीलिङका सांसद राजु विष्टले पनि आफ्नो जिम्मेवारी पूर्ण गर्न नसकेको दायित्व लिँदै आफ्नो पदबाट राजीनामा लिनपर्छ। यसका साथै भाजपालाई साथ दिएर गत लोकसभा चुनाउमा भाजपा उम्मेद्वार राजु बिष्टलाई व्यापक मतले जीत दिलाउने पहाड़का राजनैतिक पार्टीहरूले पनि भाजपाको साथ छोड्नुपर्छ।”
यसरी उनले क्रामाकपा अध्यक्ष आरबी राईलाई दार्जीलिङको राजनैतिक भीष्म पितामहको संज्ञा दिँदै बङ्गाल विधानसभाको चुनाउअघि नै पार्टीको अड़ान स्पष्ट पार्नुपर्ने अपील गरे।
पोख्रेलले भने, “आरबी राई दार्जीलिङ पहाड़का जनताको मनमा बसेका छन्। उनीहरूको निर्णयलाई स्वागत गरेर नै 2019-मा दार्जीलिङ पहाड़का जनताले भाजपाको पक्षमा मतदान गरेका थिए। तर भाजपाले अझसम्म पनि केही नगरेपछि आरबी राईले पनि पहाड़का जनताको हितमा आफ्नो अड़ान स्पष्ट पार्नुपर्छ। अब दार्जीलिङ पहाड़को क्षेत्रीयता बचाउने दायित्व उनीहरूको पनि हो।”
उनका अनुसार देशका गृहमन्त्री अमित शाहले बङ्गालमा धेरैवटा जनसभा गरे, तर कुनै पनि जनसभाबाट गोर्खाको विषयमा एक शब्द पनि बोलेनन्।