गान्तोक, 5 फरवरी : कालेबुङ कृषक कल्याण सङ्गठन (केकेएस)-ले चिटफण्ड पीड़ितहरूले न्याय पाउनुपर्ने माग गर्दै सर्वोच्च न्यायालयका मुख्य न्यायाधीश रञ्जन गोगोइलाई पत्राचार गरेको छ। केकेएसले मुख्य न्यायाधीशलाई यो पत्र मङ्गलवार पठाएको हो।
यसबारे जनसंवादसँग कुराकानी गर्दै केकेएसका अध्यक्ष विष्णु छेत्रीले चिटफण्ड पीड़ितहरूले पैसा फिर्ता पाउनुपर्ने बताएका छन्।
“पहाड़मा विभिन्न चिटफण्ड कम्पनीहरूबाट लुटिएका जनताको सङ्ख्या 50 हजार छ। यी जनताहरूले दैनिक काम गर्नेहरू गरेर जोगाएको पैसा ती कम्पनीहरूमा निवेश गरेका हुन्। उनीहरूले निवेश गरेका सबै पैसा फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो”, छेत्रीले थपे, “हामीलाई सर्वोच्च न्यायालयमाथि पूर्ण आस्था रहेकोले न्याय माग्दै पत्राचार गरेका हौं। यो सानो घोटाला होइन। धेरै ठूलो घोटाला हो। जस जसको पनि पैसा चिटफण्डमा डुबेको छ, ती सबै निवेशकहरूले आफ्नो सबै पैसा फिर्ता पाउनुपर्छ। उनीहरूले न्याय पाउनुपर्छ।”
उनले चिटफण्ड पीड़ित निवेशकहरूले पैसा फिर्ता नपाए आगामी दिनमा पहाड़का सबै निवेशकलाई एकै ठाउँ भेला गरी बृहत् र्याली निकाल्ने पनि बताएका छन्।
“यो घोटालामा जो जति दोषी छन्, उनीहरूमाथि कठोर कारबाही हुनुहुन्छ। जति नै ठूलो व्यक्ति नै किन नहोस् कारबाही गरिएको हुनुपर्छ”, केकेएसका अध्यक्षले थप भने, “उनीहरूको सम्पत्ति बेचेर पनि निवेशकहरूको पैसा फर्काइनु पर्छ। यदि यसो नगरे आगामी दिनमा हामी गणतान्त्रिक रूपमा बृहत् आन्दोलन गर्नेछौं।”
यो मामिलालाई लिएर भइरहेको राजनीतिक बाझाबाझबीच पीड़ित जनताको आवाज र उनीहरूले पाउनुपर्ने न्याय ओझेलमा पर्न नहुने पनि बताएका छन्।