कालेबुङ, 1 4 फरवरीः गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा (गोरानिमो)-मा आज 50 भन्दा बढ़ी युवा सामेल भएका छन्।
पार्टी प्रमुख दावा पाख्रिनले बताएअनुसार सामेल हुने युवाहरू नोम फरेस्ट बस्ती, गोरुबथानको फारी बस्ती, पत्थरझोड़ा, अप्पर कुवापानी, नोकडाँड़ा भुजेल गाउँ, पासाबुङ आदि ठाउँका हुन्।
पाख्रिनका अनुसार प्रतिदिन युवाहरू गोरानिमोमा सामेल भइरहेका छन्।
यसैबीच उनले गोर्खाहरूका समस्या समाधानका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहमाथि भरोसा रहेको पनि बताए।
यसका साथै उनले सरकारमाथि भरोसा रहे तापनि आफूहरू तयारी बस्नुपर्ने आवश्यकतामाथि जोड़ दिए।
यदि भोलिका दिनका लागि तयार नभएको खण्डमा अहिले विमल गुरुङको जस्तै अवस्था आफूहरूको पनि हुनसक्ने पाख्रिनले बताए।
“आज विमल गुरुङको जस्तो अवस्था छ, त्यस्तो अवस्था आइनपरोस् भनेर हामी तयार भएका हौँ”, गोरानिमो प्रमुखले थपे, “भारतका गृहमन्त्रीले दिएको वचन हो, हामीले भरोसा गर्नुपर्छ, तरैपनि तपाईं हामी कम्मर कसेरै बस्नपर्छ। हामी एक हुनसकेनौँ, जातीय एकता गर्न सकेनौँ भने भोलि गएर राज्य सरकारले त्यतिकै दमन नीति फेरि चलाउनेछ।”
पाख्रिनका अनुसार उनीहरूले केन्द्र सरकारलाई गोर्खाहरूको समस्या समाधानका लागि समय नै दिएको छ।
यदि दिएको समयभित्र पनि केन्द्र सरकारले केही नगरे गोरानिमो पार्टीले कार्यक्रम गर्ने अघिबाटै जनाइसकेको पनि उनले बताए।
“म वचन दिएपछि फेल गर्दिन। शिर जाओस् तर वचन नजाओस्, प्राण जाओस् तर वचन नजाओस्, यो गोर्खाको वचन हो। गोर्खाले वचनलाई फिर्ता लिनु हुँदैन”, उनले थपे, “हाम्रो गोर्खाल्याण्डको कार्यक्रम मान्छे काट्ने, घर जलाउने हुँदैन। र भोलिका दिनमा पनि हामी बङ्गाल सरकारसँग लड़्ने छैनौँ। हामी केन्द्र सरकारसँगै कार्यक्रम गर्नेछौँ। केन्द्र सरकारलाई घच्घचाउने छौँ। केन्द्र सरकारलाई नै हल्लाउनेछौँ, यदि केन्द्र सरकारले समयमा नदिए।”
उनले गोरानिमोले सदैव शहीदलाई सम्झेर शहीदको नाममा बत्ती बालेर मात्र कार्यक्रम शुरू गर्नेगरेको बताउँदै यसरी नै गोरानिमोमा प्रतिदिन सामेल भइरहे एकत्रित हुने र लक्ष्यमा पुग्नसक्ने दावी पनि जनाए।
पाख्रिनका अनुसार गोर्खाल्याण्ड नहुनुका धेरै कारण छन् र ती कारणहरू उनले जनसभाका दिन सबै बताउने चेष्टा गर्नेछन्।
“गोर्खाल्याण्ड जबसम्म हुँदैन, तबसम्म गोरानिमो एक सुत पनि पछि हट्दैन”, दावा पाख्रिनले ठोकुवा गरे, “गोर्खाल्याण्डबाहेक अरू हामी केही जान्दैनौँ। र गर्दैनौँ पनि।”