पहाड़मा पुनः फुटबलको क्रेज बढ़्दै

0
898

दार्जीलिङ, 15 फरवरीः अहिले दार्जीलिङ पहाड़मा खेलकुद कार्यक्रमहरूले निकै महत्त्व पाएको छ।

विभिन्न गाउँ, चियाबगान, बस्ती क्षेत्रमा फुटबल प्रतियोगिताको होड़ नै लागेको छ।

यसै होड़बाजीबीच हिजो आइतबार  भा-तकभर चियाकमान साथै बालासनमा एकसाथ छुट्टा-छुट्टै फुटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको थियो।

बालासन पुलबजार खेल मैदानमा नव मिलन परिवारद्वारा फुटबल खेलको आयोजन गरिएको थियो भने भा-तकभर चियाकमानमा बिर्खेधुरा गाउँ कल्याण समितिको तत्त्वावधानमा फुटबल प्रतियोगिताको आयोजन गरिएको थियो।

बालासनको फाइनल खेलमा भाइस अव् नेपालकी प्रतियोगी आकांक्षा थापा मुख्य आकर्षण बनेकी थिइन् भने बिर्खेधुरा गाउँ कल्याण समितिद्वारा आयोजन गरिएको खेलमा सिक्किमबाट आएका महिला रेफरी सेन हाङ्मा सुब्बा, प्रेशिला तामाङ मुख्य आकर्षणका केन्द्र बनेका थिए।

यति मात्रै होइन, भोइस अव् नेपालकै एक प्रतियोगी विमोचना लम्जेल र गायक प्रबल थापाले पनि भा-तकभर चियाकमानमा आयोजित खेलमा निकै मनोरञ्जन प्रदान गरेका थिए।
स्मरण गराइन्छ, हाल सिक्किम रेफरी एसोसिएशनका महिला रेफरीहरूलाई दार्जीलिङ पहाड़का विभिन्न स्थानमा आयोजन भइरहेका फुटबल खेलहरूमा निर्णायकको भूमिका निर्वाह गर्न ल्याउने गरिएको छ।

यसैका लागि हिजो भा-तकभर चियाकमानको बिर्खेधुरा गाउँ कल्याण समितिद्वारा आयोजित दोस्रो ओपन फूटबल प्रतियोगिताको फाइनल खेलमा पनि सिक्किमकी रेफरी सुब्बा र प्रेशिला तामाङलाई ल्याइएको थियो।

यद्यपि, यस खेलमा प्रेशिलाले लाइन्स वुमनको भूमिका निर्वाह गरेकी थिइन्।

महिला अम्पायरहरूलाई केटाहरूको फुटबल खेलमा निर्णायक बनेर खेल सञ्चालन गर्न कतिको गाह्रो पर्छ? भन्ने प्रश्‍न गर्दा सेन हाङ्मा सुब्बा र प्रेशिला तामाङले भने, “त्यस्तो कुनै समस्या हुँदैन। उल्टा कुनै खेलमा केटी अम्पायर छ भन्ने थाह लागे दर्शकहरूको बेसी भीड़ जम्ने गर्छ। त्यो हामीले अनुभव गरेको कुरा हो।”

सिक्किम रेफरी एसोसिएशनसित सम्बन्धित यी महिला वा केटी रेफरीहरूको दार्जीलिङ पहाड़मा हाल निकै माग बढ़िरहेको बताउँदै गत केही सप्ताहअघि रेलिङमा भएको फुटबल खेलका सम्पूर्ण प्रतियोगिता नै आफूहरूले सञ्चालन गरेको पनि प्रेशिलाले बताइन्।

उनले एक प्रश्‍नको उत्तरमा भनिन्, “हाल सिक्किमको राजधानी गान्तोकमा करिब 20 जना जति फुटबल रेफरी छन्, जसमा 5 जना महिला रेफरी सामेल छन्।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here