दुई हत्यारोपी पक्राउ, दुईको अझै खोजी जारी

0
1040

दार्जीलिङ, 17 फरवरीः फाँसीदेवामा 47 वर्षीय व्यापारी उमेश शाहको निर्मम हत्या गरी शिर र शरीरलाई बेग्ला-बेग्लै ठाउँमा फ्याँक्ने आरोपीद्वय मोहम्मद रसुल (26) र मोहम्मद ममिरूल (38)-लाई दार्जीलिङ पुलिसले 72 घण्टाभित्र पक्राउ गरेको छ।

यसका साथै दार्जीलिङ जिल्लाको फाँसीदेवा पुलिसले आरोपी मोहम्मदद्वयका सहयोगी क्रमैले मोहम्मद दिमाल र मोहम्मद तमिरूलको पनि तीव्र गतिले खोजी अभियान चलाइरहेको दार्जीलिङका पुलिस अधीक्षक डा. सन्तोष निम्बलकरले बताएका छन्।

उनले जानकारी गराएअनुसार, सिलगढ़ीको वार्ड नम्बर 10-का बासिन्दा उमेश शाह बेपत्ता बनेको उजुरी उनका दाजु रवीन्द्र शाहले 11 फरवरीका दिन फाँसीदेवा थानामा दर्ता गरेका थिए।

उजुरी प्राप्त हुनसाथै थानाले खोजी अभियान शुरू गरेको थियो भने भोलिपल्टै पुलिसले महानन्दा क्यानलमा एउटा टाउको बिनाको देह र मोटर बाइक फेला पार्न सफल बनेको थियो। यसपछि अनुसन्धान गर्दै जाँदा पुलिसले उमेश शाहको टाउको एउटा हेल्मेटमा घुँसारेर राखेको पनि भेट्टाएको पुलिस अधीक्षक निम्बलकरले बताए।

उनले दिएको जानकारीअनुसार, उमेश शाह एक व्यापारी हुन्, उनले बोराको व्यवसाय गर्छन्। शाहका तीनवटा बोराको कारखाना पनि छन्।

शाहको केही समयअघि मोहम्मद दिमालकी बहिनी हलिमा खातुनसित प्रेम सम्बन्ध रहेको जाँच कार्यबाट पत्तो लागेको छ। शाहसँगै प्रेम सम्बन्धका कारण हलिमाका पतिले हलिमालाई छोड़ेको आरोप लगाउँदै त्यसको बद्ला लिनका लागि नै मोहम्मद रसुल, मोहम्मद ममिरूल, मोहम्मद दिमाल र मोहम्मद तमिरूलले एक योजना बनाएका थिए।

“प्राथमिक चरणमा यी युवाहरूले उमेशलाई सोझै मार्ने योजना बनाएका थिएनन्”, पुलिस अधीक्षकले थपे, “तर, घटनास्थलमा स्थिति बिग्रिएपछि उनीहरूले उमेशको निर्मम हत्या गरेको हुन्।”

उनले अझ अघि भने, “त्यस दिन उनीहरूले उमेशसित केवल कुराकानी मात्रै गर्ने योजना बनाएका थिए। तर, उमेशसित भेट भएपछि ती चार युवकहरूले उमेशको खुट्टा समाते अनि घिँच्रो दबाएर बेहोश बनाए। उनी बेहोश बनेपछि यी चारजनाले एउटा चक्कु ल्याएर उमेशको घिच्रो काटेर शरीरबाट अलग गरिदिए अनि उनको मृत देह घटनास्थलबाट करिब 100 मिटर टाढ़ा लगेर महानन्दाको नहरमा फ्याँकिदिए। त्यसरी नै उनको टाउकोलाई हेल्मेटमा घुँसारेर फ्याँकिदिए।”

यो घटनापछि क्षेत्रमा सनसनी मच्चिनका साथै क्षेत्रवासी त्रस्त बनिरहेका थिए। यद्यपि फाँसीदेवा थानाको अथक प्रयासको कारण हत्यारोपीहरू 3 दिनभित्रै पुलिसको कब्जामा परेका छन् भने हालसम्म भाग्न सफल बनिरहेका हत्यारोपीद्वयको पनि खोजी तीव्र गतिले भइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here