राष्ट्रिय सड़क सुरक्षा महिनाको समापन, श्रेष्ठ चालकहरू सम्मानित

0
1096

गान्तोक, १७ फरवरीः भारत सरकारको परिवहन मन्त्रालयको देशव्यापी राष्ट्रिय सड़क सुरक्षा महिना सिक्किम राज्यमा पनि विविध जनचेतनामूलक कार्यक्रम आयोजन गरी पालन गरियो।

18 जनवरीदेखि राज्यव्यापी रूपमा आरम्भ भएको यो अभियान आज राजधानीको एमजी मार्गमा एक कार्यक्रमको आयोजनसँगै समापन भयो।

यस अवसरमा राज्यका लोकसभा सांसद इन्द्रहाङ सुब्बा मुख्य अतिथि थिए भने परिवहन मन्त्री सञ्जीत खलेर विशेष अतिथिको रूपमा उपस्थित थिए।

आफ्नो सम्बोधनमा सांसद सुब्बाले महिनाव्यापी अभियान समाप्त भए तापनि सड़क सुरक्षा अभियान र यसबारे प्रत्येक नागरिकको जिम्मेवारी र कर्तव्य कहिल्यै पनि नसकिने बताए।

सड़क सुरक्षालाई लिएर अरूलाई सचेत गर्ने र आफू पनि सचेत बन्ने पहल एक महिना मात्र होइन वर्षैभरि गरिनुपर्ने कुरामा उनले जोड़ दिए।

यस एक महिनामा सड़क सुरक्षाबारे सचेतना जगाउँदै परिवहन विभाग राज्यका सबै ठाउँमा पुग्न नसके तापनि विभिन्न माध्यमबाट धेरै नै जागरूकता ल्याउन सफल भएको उनले आशा व्यक्त गरे।

सड़क सुरक्षा र ट्राफिक नियम पालनको आवश्यकतामाथि बोल्दै सिक्किमजस्तो यातायातको एकमात्र भरपर्दो माध्यम सड़क मार्ग रहेकाले पहाड़ी राज्यमा यसको महत्त्व अझ बेसी रहेको सांसद सुब्बाले बताए।

सड़क सुरक्षा र ट्राफिक नियमबारे चालकहरू मात्र होइन तर प्रत्येक नागरिक सचेत बन्नुपर्छ भन्ने कुरामा जोर दिँदै यस विषयलाई राज्यका प्रत्येक विद्यालयमा पुऱ्याउनुपर्ने सुब्बाले थप बताए।

परिवहन विभागको यस एक महिनाव्यापी सड़क सुरक्षा अभियानलाई सफल बनाउनमा राज्यका विभिन्न चालक सङ्गठन अनि सङ्घ संस्थाहरूले दिएको सहयोगका लागि उनले विभाग र सरकारको पक्षबाट धन्यवाद दिए।

यातायात मन्त्री सञ्जीत खरेलले राज्यमा पहिलोपल्ट यति बृहत् स्तरमा सड़क सुरक्षा अभियान चलेको र सफल पनि भएको बताए।

यसका लागि उनले विभागका अधिकारी, कर्मचारी, विभिन्न चालक सङ्गठन र सङ्घ संस्था साथै सबै हितधारकलाई धन्यवाद दिए।

मन्त्री खरेलले विशेष गरी गाड़ीको लाइसेन्स र इन्सोरेन्स अप-टु-डेट राख्न चालकहरूलाई अपील गरे।

यसका साथै उनले चालकहरूलाई कुनै प्रकारको समस्या भएको खण्डमा आफ्नो कार्यालयको ढोका सधैँ खुल्ला रहेको पनि बताए।

कार्यक्रममा ट्याक्सी, लक्जरी गाड़ी, ट्रक र बस चालकहरूमा सबैभन्दा सुरक्षित चालकहरू चयन गरी स्टेट ड्राइभर अवार्ड साथै आर्थिक अनुदान पनि प्रदान गरियो।

यसरी नै यस महिनाव्यापी अभियानमा आयोजन गरिएको रन फर रोड सेफ्टी, चित्रकला र निबन्ध प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पारितोषिक साथै चालक सङ्गठन र सङ्घ संस्थाहरूलाई पनि अभिनन्दन जनाइयो।

यसैगरी दुर्घटनामा ज्यान गुमाउने दुइजना चालकका परिवारलाई सरकारको तर्फबाट प्रदान गरिने पाँच लाख रुपियाँ अनुग्रहराशि पनि प्रदान गरियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here