परिवर्तनको हावा आँधीबेह्रीमा परिणत भएको छः बिष्ट

0
1032

दार्जीलिङ, १७ फरवरीः बङ्गालमा परिवर्तनको हावा अब आँधीबेह्रीमा परिणत भएको सांसद राजु बिष्टले बताएका छन्।

उनले आज डुवर्समा सम्पन्न भाजपाको परिवर्तन यात्रामा सहभागी जनसमर्थनलाई औंल्याउँदै यस्तो भनेका हुन्।

बिष्टका अनुसार दार्जीलिङ पहाड़, तराई र डुवर्सका जनताले भाजपालाई समर्थन दिइएपछि बहेको परिवर्तनको हावा आज यस्तो आँधीबेह्रीमा परिणत भएको छ, जसले पश्चिम बङ्गालबाट भ्रष्ट, तानाशाही र निरंकुश तृणमूल कङ्ग्रेसको शासनलाई जरैबाट उखेलेर फ्याँक्नेछ।

उनका अनुसार यस परिवर्तन यात्रामार्फत् भाजपा धरतलीय स्तरमा जनतासँग जोड़िँदैछ, उनीहरूका पीरमर्कालाई सुन्नेकार्य गर्दैछ र क्षेत्र र जनताप्रति आफ्नो दृष्टि, अभियान र वचनबद्धता साझा गरिरहेको छ।

आज डुवर्समा सम्पन्न भाजपाको परिवर्तन यात्रामा जनजाति मामिला मन्त्री अर्जुन मुण्डा, अलिपुरद्वारका सांसद जोन बारला, जलपाइगढ़ीका सांसद जयन्त राय र दार्जीलिङका सांसद राजु बिष्टलगायत अन्य नेतृत्वहरूको सहभागिता रहेको थियो।

परिवर्तन यात्रापछि एक विज्ञप्ति जारी गरी राजु बिष्टले भनेका छन्,’उत्तर बङ्गाल भारतका जातीय रूपले सबैभन्दा विविध र सांस्कृतिक रूपले सबैभन्दा समृद्ध स्थलहरूमध्ये एक हो। हाम्रो क्षेत्र र जनताको सौन्दर्य एवं आकर्षणले हाम्रो साझा विरासत र जीवनशैलीको समृद्धिलाई दर्शाउँछ। हाम्रो भूमिमा पर्यटन, चिया, शिक्षण, प्राकृतिक स्रोत विकास, अन्तर्राष्ट्रीय व्यापार, र विश्वमा नै प्रतिस्पर्धा गर्न सक्ने हाम्रा प्रतिभावान युवाहरूका लागि अपार सम्भावना छन्। तर, पनि, आज हाम्रो क्षेत्र राज्यमा सत्तारूढ़ निरंकुश सरकारको अत्यधिक भेदभाव र अवहेलनाका कारण असाध्यै पछाड़िएको छ।’

उनले थप भनेका छन्, ‘माँ माटी मानुषको नारा लगाएर सत्तामा आएको तृणमूल कङ्ग्रेसले आज “माँ”-सँग ठूलो घात गरेको छ,  “माटी” रगतमा मुछिएको छ, र “मानुष” दिनहुँ पुलिस राजमा आतङ्कित भएर बाच्न बाध्य छ। यसकारण, बङ्गालभरिका जनता आज राज्यको कायाकल्प गर्न यस मौन क्रान्तिमा सामेल भएका छन्। हाम्रो राज्यका जनताले अब प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा मात्रै बङ्गालले आफ्नो गौरव पुनःप्राप्त गर्नेछ र भारतका अग्रणी राज्यहरूमा आफ्नो यथोचित स्थान हासिल गर्नेछ भन्ने बुझेका छन्। २०२१-को चुनाउले हाम्रो राज्यमा शान्ति, प्रगति र समृद्धिको नयाँ युगको सूत्रपात गर्नेछ।‘

दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता बिष्टका अनुसार उत्तर बङ्गालमा प्रतिदिन भाजपा बलियो हुँदै गइरहेको छ।

यसैगरी उनले उत्तर बङ्गाल र राज्यमा सकारात्मक परिवर्तनका लागि प्रतिबद्ध सक्रिय पार्टी कार्यकर्ताहरूलाई धन्यवाद दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here