दार्जीलिङ, १९ फरवरीः गोर्खा बटालियनमा अगोर्खाहरूको भरमारले गोर्खाहरूप्रति तृणमूल कङ्ग्रेस सरकारको राजनीतिक आडम्बर एकचोटि फेरि उदाङ्गो भएको दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टले बताएका छन्।
उनका अनुसार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले होहल्ला मच्चाउँदै बङ्गाल पुलिसमा गोर्खा बटालियन गठन गर्ने घोषणा गरेकी थिइन्। तर, सो गोर्खा बटालियनमा १२३ जवानमध्ये ४ जना मात्र गोर्खा रहेको तथ्य अहिले उजागार भएको छ।
बिष्टले यससम्बन्धमा आज एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘मैले पहिला पनि पटकपटक भनेअनुसार तृणमूल कङ्ग्रेसलाई उत्तर बङ्गालका गोर्खा तथा अन्य अल्पसङ्ख्यकहरूका कल्याणप्रति अलिकति पनि वास्ता छैन। बितेका १० वर्षदेखि तृणमूल कङ्ग्रेसले हाम्रो क्षेत्र र जनतालाई वञ्चित राखेको छ। र भेदभाव गर्दै आएको छ। र तिनीहरूले यसै गर्न जारी राख्नेछन्।’
उनका अनुसार तृणमूल कङ्ग्रेसको शासनमा दार्जीलिङ्ग र कालेबुङ जिल्ला सर्वाधिक पीड़ित भएका छन्। दार्जीलिङ कालेबुङ, खरसाङ, मिरिक, बिजनबारी, अलगढ़ा, गोरुबथान, मतिगढ़ा, खोरीबारी, फाँसीदेवा, नक्सलबारी र सिलगढ़ीका सरकारी कार्यालयहरूमा हजारौँ रिक्त पद छन्।
‘वास्तवमा, पश्चिम बङ्गाल सरकारले हाम्रो क्षेत्रमा सेवानिवृत्तिपछि रिक्त भएका पदहरू भर्न अस्वीकार गरेको छ। यसको परिणामस्वरूप हाम्रो क्षेत्रका लगभग सबै सरकारी कार्यालयमा कर्मचारीहरू कि त धेरै कामको बोझले थिच्चिएका छन्, तनावग्रस्त छन् वा उचित पारिश्रमिकबिना काम गर्न बाध्य भइरहेका छन्’, सांसद बिष्टले थप भनेका छन्, ‘त्यसैमाथि, जीटीएका कुनैपनि कर्मचारीलाई स्थायी बनाइएको छैन। र उनीहरू पश्चिम बङ्गालमा सरकारी कर्मचारीहरूले पाउनेभन्दा धेरै कम्ती वेतनमा काम गर्न बाध्य बनाइएका छन्। जीटीएमा सेवारत् हाम्रा थुप्रै दिदीबहिनी एवं दाजुभाइहरूले उपयुक्त वेतन, पेन्शन वा सामाजिक सुरक्षा सुविधाबिना नै संविदा कर्मीको रूपमा काम गर्दै आफ्नो सारा जीवन बिताएका छन्। यसले गर्दा, हाम्रा शिक्षित एवं प्रतिभावान युवाहरू जीवनमा राम्रा अवसरहरूका खोजीमा आफ्ना घर-परिवार छोड़ेर टाढ़ाका शहरहरूतिर व्यापक रूपमा पलायन गरिरहेका छन्। यो कुनै पनि हालतमा स्वीकार्य छैन।‘
यसैगरी सांसद राजु बिष्टले अन्य राजनैतिक दलहरू विशेषगरी तृणमूल कङ्ग्रेसका घटक दलहरूलाई तृणमूल सरकारको यस्तो घोर आडम्बरविरुद्ध आवाज उठाउन आह्वान गरेका छन्। ‘हामी, तृणमूल कङ्ग्रेसको यस्तो आडम्बरपूर्ण राजनीति अनि भेदभावपूर्ण तथा विकासविरोधी राजनीतिको भण्डाफोर गर्दै सचेत रूपले अघि आउनु पर्दछ’, उनले थप भनेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वअन्तर्गत् हामीले हाम्रो क्षेत्र र जनताका लागि समृद्धि र प्रगतिको एउटा यस्तो नयाँ युगको सूत्रपात गर्न सक्छौँ, जहाँ हाम्रा युवाहरू आजीविकाको खोजीमा घरबाट टाढ़ाका शहरहरूतिर भौंतारिनुपर्ने स्थिति कहिल्यै आउनेछैन।‘