जाली नियुक्ति-पत्र लिएर नोकरीमा लाग्न जाँदा खुल्यो रहस्य, दुइवटा विभागले गऱ्यो प्राथमिकी दर्ता

0
1215
प्रतीकात्मक फोटो।

गान्तोक, १९ फरवरीः सिक्किम सरकारको कार्मिक विभाग (DOP)-का एक अधिकारीको हस्ताक्षर चोरी गरेर जाली नियुक्ति आदेशहरू जारी गरेको घट्ना प्रकाशमा आएको छ।

कथित् जाली नियुक्ति आदेश-पत्र लिएर चारजना खाद्य एवम् नागरिक आपूर्ति र वन विभाग पुगेपछि यो धाँधली प्रकरणको खुलासा भएको हो।

पुलिस सुत्रबाट प्राप्त जानकारीअनुसार हिजो एकजना पूर्व सिक्किमको सेन्ट्रल पाण्डम निवासी बताइने मिरा शर्मा कार्मिक विभागबाट जारी नियुक्ति आदेश-पत्र लिएर खाद्य एवम् नागरिक आपूर्ति विभाग पुगेकी थिइन्।

विभागले उक्त नियुक्ति आदेशलाई लिएर कार्मिक विभागमा जाँच गर्दा कसैले कार्मिक विभागका अव्वर सचिव दामोदर ओझाको जाली हस्ताक्षर गरेर उक्त जाली नियुक्ति आदेश-पत्र जारी गरेको भेटाइयो।

यसरी नै कल्पना देवी रेग्मी र ओमनाथ खतिवड़ा नाम गरेका व्यक्ति पनि जाली नियुक्ति आदेश-पत्र लिएर खाद्य एवम् नागरिक आपूर्ति विभाग पुगेका थिए।

उनीहरूलाई क्रमैले एलडीसी र पिउनको पदमा नियुक्ति आदेश-पत्र जारी गरिएको थियो।

यस घटना सम्बन्धमा विभागकी सचिव दिपा रानी थापाले सदर थानामा प्राथमिकी दर्ता गरेकी छन्।

अर्कोतिर, वन विभागमा पनि हिजै एकजना वीरेन्द्र शर्मा नाम गरेका व्यक्ति कथित् जाली नियुक्ति आदेश-पत्र लिएर ड्युटी जोइन गर्न पुगेका थिए।

उनको पनि नियुक्ति आदेश-पत्रको जाँच गर्दा कार्मिक विभागका अव्वर सचिवको जाली हस्ताक्षर गरिएको भेटाइएको छ। यस सम्बन्धमा वन विभागकी संयुक्त सचिव थिन्ले पेमा चङ्कापाले सदर थानामा प्राथमिकी दर्ता गरेकी छन्। दुवै घट्नालाई लिएर सदर पुलिसले भारतीय दण्ड संहितकाको धारा 420/465/468 र 34 अन्तर्गत मामिला दर्ता गरेर कानुनी कारबाही थालेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here