गान्तोक, २० फरवरीः गेजिङ कलेजका चार विद्यार्थीलाई कलेज प्रशासनले निष्कासन गरेको घटनालाई विपक्षी एसडीएफ पार्टीको विद्यार्थी मोर्चाले ’सिक्किमको प्रजातान्त्रिक इतिहासमै सबैभन्दा घृणितम् कार्य’-को संज्ञा दिएको छ।
आज एसडीएफ विद्यार्थीका महासचिव टाशी छिरिङ भोटियाले एक प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरूका निष्कासनको कड़ा शब्दमा निन्दा गरेका छन्।
उनका अनुसार कसैप्रति पनि कटु शब्द प्रयोग नगरेको, कानून-व्यवस्थालाई कतै पनि आँच नपुऱ्याएको, समाजलाई रत्तिभर पनि नबिथोलेको हुँदा पनि सिक्किम सरकारले आफ्नो नैसर्गिक हक-अधिकारको माग गरिरहेका विद्यार्थीहरूलाई कलेजबाट निष्कासन गरेर सिक्किममा तानाशाही, जङ्गलराज र असहिष्णु राजनैतिक युग शुरू भइसकेको जनाउ दिएको छ।
‘कलेजका विद्यार्थीहरूले अकादमिक क्याम्पसको माग गर्नु, राज्यका शिक्षा मन्त्रीसित अपोइण्टमेण्ट माग्नु यति जघन्य अपराध भयो कि उनीहरूले आफ्नो शैक्षिक जीवनबाटै हात धुनुपरोस्? एसकेएम सरकारको यस्तो जघन्य प्रजातन्त्रविरोधी, शिक्षाविरोधी, विद्यार्थीविरोधी, युवाविरोधी पदक्षेपको एसडीएफ पार्टी विद्यार्थी मोर्चा धिक्कार जनाउँदछ’, भोटियाले भनेका छन्।
उनले विज्ञप्तिमा थप भनेका छन्, ‘प्रजातन्त्रमा आफ्ना कुराहरू राख्नपाउनु, धरना-जुलूस गर्नपाउनु, विरोधलाई दर्ता गर्नु जनताको मौलिक अधिकार हो। एसकेएम सरकारले जनताको प्रजातान्त्रिक अधिकारपछि अब मानवअधिकार नै मिच्न शुरू गरेको छ। एसकेएम सरकारले विद्यार्थीहरूको माग र सङ्घर्षलाई शत्रुतामूलक ढङ्गमा लिएर विद्यार्थीहरूले शिक्षा लिनपाउने मौलिक अधिकारमाथि नै कुठाराघात गरेको छ। यो सिक्किमको शैक्षिक र प्रजातान्त्रिक इतिहासमा कालो दिन हो भनी एसडीएफ विद्यार्थी मोर्चा ठहर गर्दछ।‘
उनका अनुसार एसडीएफ पार्टी र यसका जम्मै जनसङ्गठन जनताको हक-अधिकार अनि उनीहरूको न्यायोचित सङ्घर्षको पक्षमा खड़ा छ।
साथै टाशी छिरिङ भोटियाले गेजिङ कलेजका ती विद्यार्थीहरूको निलम्बनलाई तुरून्त खारेज गरियोस् भनी सिक्किम सरकारसमक्ष माग पनि गरेका छन्।