दार्जीलिङ, 21 फरवरीः जामुनेको गेस्ट हाउस जलेर खरानी भयो।
हिजो राति यस गेस्ट हाउसमा आगो लागेको पुलिसले बताएको छ।
दार्जीलिङ पुलिसले सर्ट सर्किटको कारण नै आगो लागेको हुनसक्ने प्राथमिक अड़कल लगाएको छ।
तरै, पनि यसको खास कारण पत्तो लगाउन जाँच चलिरहेको दार्जीलिङ पुलिसका उप-अधीक्षक अभिषेक गुप्तले बताएका छन्।
हिजो राति यहाँ आगो लागेको खबर आज बिहान मात्रै थाह लागेको उनले बताए।
यसको जानकारी पाउनसाथै आज पुलिसको एक टोलीले यहाँ भ्रमण गरेर जाँच गरेको पनि उनले जानकारी गराए। तर, यहाँ कसैले आगो लगाइएको भन्ने कुनै प्रमाण नपाएको पनि बताए।
पुलिस अधिकारी गुप्ताले आगो छप्परबाट शुरू भएको पनि जानकारी गराए।
यसरी नै जामुनेकी एक कर्मचारी सारिका तामाङले आज बिहान लगभग 5 बजी गेस्ट हाउस जलिरहेको छ भन्नेबारे जानकारी पाएको बताइन्।
उनले यहाँ आगो लाग्नुमा कसैमाथि शङ्का गर्न सक्ने ठाउँ नै नरहेको पनि बताइन्।
उनले भनिन्, “105 दिन पहाड़ बन्द हुँदा पनि केही नभएको यस गेष्ट हाउसमा आज कसरी आगो लाग्यो, त्यो स्पष्ट नै हुनसकेको छैन।”
दार्जीलिङको एक मुख्य पर्यटन स्थलको रूपमा जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-द्वारा विकसित भइरहेको जामुनेको गेस्ट हाउस जलेर खरानी भएपछि मानिसहरूले विभिन्न शङ्का पनि गरिरहेका छन्।
यद्यपि, यसमा आगो कसैले झोसिएको हो वा अन्य कुनै कारणले यसमा आगो लागेको हो भन्नेबारे पुलिसले जाँच शुरू गरेको छ। तर, आगलागीको चपेटमा यो गेस्ट हाउस पूर्णरूपले ध्वंश बनेको छ भने गेस्ट हाउसभित्रका सर-सामान आदि पूर्णरूपले खरानी बनेका छन्।
यसको जाँच गर्न आज बिहानै दार्जीलिङ पुलिसका शीर्ष अधिकारीहरू पनि घटनास्थलमा पुगेका थिए।
जामुनेलाई जीटीएले एक पर्यटन स्थलको रूपमा विकसित गरिरहेको भए पनि अहिलेसम्म यो गेस्ट हाउस जीटीएको अधीनमा नरहेको जानकारी पाइएको छ।
यसैले अहिलेसम्म पनि यो गेस्ट हाउस गोजमुमो अध्यक्ष विमल गुरुङकै सम्पत्तिको रूपमा रहेको पनि जानकारी पाइएको छ। विमल गुरुङ जीटीएको चौकीमा रहेको समय नै उनले यो गेस्ट हाउस निर्माण गरेको बताइएको छ। तरै पनि अहिलेसम्म यसमाथि विमल गुरुङ पक्षबाट कुनै प्रतिक्रिया आएको छैन।