विमललाई बिष्टको चुनौती- मैले भेद खोलेका दिन सबै बताइदिन्छु

0
1217

दार्जीलिङ, २३ फरवरीः दार्जीलिङको मञ्चबाट राजु बिष्टले आज विमल गुरुङमाथि सक्दो कटाक्ष गरेका छन्। “मैले भेद खोलेका दिन सबै बताइदिन्छु कुरा भनिदिनेछु”, उनले गुरुङलाई चुनौती दिएका छन्।

बिष्टले आज दार्जीलिङको मोटर स्ट्याण्डमा भाजपाद्वारा आयोजित परिवर्तन यात्राअघिको जनसभालाई सम्बोधन गर्दै गुरुङलाई यस्तो चुनौती दिएका हुन्।

उनले थपे, “दिल्ली पुग्नेबितिक्कै पैसा चाहिन्छ। के को गोर्खाल्याण्ड चाहिन्थ्यो उनीहरूलाई। खालि पैसा खोज्छ, खालि पैसा। यहाँ आएर हाउड़ेमा ठूल्ठूला कुरा गर्छ। तर दिल्लीमा गएर सधैँ पैसा मात्र खोज्छ। केही पनि दिएनु भन्छ अझै। हेर्नुस् मैले भेद खोलेका दिन सबै बताइदिन्छु, कति नम्बरको जुत्ता लगाउनु हुन्छ त्यो पनि बताइदिन्छु।”

सम्बोधनको शुरूमै बिष्ट विमलमाथि आक्रोशित देखिएका थिए। “संसद धेर बोल्यो अरे। म हेर्नुस् दिल्लीमा झिँगा मार्न गएको थिइन। दिल्लीको कालो मच्छर मार्न गएको थिइन। गोर्खाका लागि बोल्न गएको थिए, अझै पनि बोल्छु। मलाई बोल्न कसैका बाउले पनि रोक्न सक्दैन।”

यसैबीच उनले गोर्खाको सपना अवश्यै पूरा हुने बताए। साथै विमल र अनित-विनय तीनैजनाले जनतालाई ढाँटिरहेको आरोप लगाए। शहीदहरूको अपमान गरिरहेको आरोप लगाए।

यसैबीच, उनले पीपीएस (स्थायी राजनैतिक समाधान) सजिलो भए धेरै अघि नै समाधान भइसक्ने थियो भन्ने बताए।

“मोदी छ त सबै सम्भव छ भन्ने सबैले सुनेकै हो। देशमा मोदी सरकारले जम्मू-काश्मीरको धारा 370 हटायो, सीएए कानून पनि लागू भयो, राम मन्दिर बनाउने पहल गर्यो, ट्रिपल तलाक हटायो। यसरी नै पीपीएस सजिलो भए अस्ति नै समाधान भइसक्ने थियो”, राजु बिष्टले भने।

यसका साथै उनले गोर्खा जातिका 11 वटा जातलाई जनजातिको मर्यादा प्रदान गर्ने अनि स्थायी राजनैतिक समाधानको मुद्दालाई कुनै पनि चुनाउसित जोड्न नहुने बताउँदै यी मुद्दाहरू र चुनाउ पूर्णरूपले अलग-अलग विषय रहेका बताए।

तर, 2024-सम्मका लागि आफू चौकीदारको रूपमा रहेको बताउँदै कसैलाई धोका नदिने प्रतिबद्धता जाहेर गरे।

“म 5 वर्षसम्म सांसद हो र गोर्खाको छोराले गरेरै छोड्छ भन्ने प्रमाण गरेर देखाउनेछु’’, उनले थपे।

11 जातलाई जनजातिको मर्यादा दिने कुरा चुनाउअघि र पछि भन्ने विषयमा निकै चर्चा भइरहेको छ।

यसै समय जनसभामा भेला भएका जनताको भीड़बाट चुनाउअघि नै हुनपर्छ भन्ने आवाज बुलन्द भयो।

यदि चुनाउअघि 11 जातले जनजातिको मर्यादा नपाए भाजपा चुनाउ हार्छ भन्ने आवाज पनि भीड़बाट आइरहेको थियो।

ज्ञात रहोस्, यस भीड़मा आज अधिकांश गोरामुमो समर्थक नै भेला भएर बसेका थिए।

यसैबीच, बिष्टले उक्त भीड़लाई जनजाति र पीपीएसको मुद्दालाई चुनाउसित जोड्न नहुने बताए। तरै, पनि जनसभालाई सम्बोधन गर्ने क्रममा सांसद राजु विष्ट उपस्थित भीड़को मन जित्न सफल बने अनि बिष्टको भाषणको स्वागत जनाउँदै थप्पड़ी पनि मारिरहेका थिए।

उनले चियाश्रमिकहरूका लागि वर्तमान केन्द्र सरकारले मिनिमम वेजेस एक्ट पास गरिसकेको बताउँदै चियाश्रमिकहरूको दैनिक रोजी 350 रुपियाँ पुग्ने बताएपछि अझै थप्पड़ीको आवाज तीव्र बनेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here