एसडीएफमा ठूलो पैह्रोः केही शीर्ष नेतृत्वहरूसहित करिब ५ हजार एसकेएममा सामेल

0
1052

गान्तोक, 23 फरवरीः पश्चिम सिक्किमको रिञ्चेनपोङ समष्टिअन्तर्गत् श्रीबदाम खेलमैदानमा मङ्गलबार आयोजित विशाल सामेली कार्यक्रममा विपक्षी पार्टीका वरिष्ठ नेता, पूर्वमन्त्री र विधायकसहित करिब पाँच हजारजना सत्तारूढ़ एसकेएम पार्टीमा सामेल भएका छन्।

सामेली कार्यक्रममा एसकेएम पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोले मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा मन्त्रीगण, विधायकगण, विभिन्न विभागका सल्लाहकारगण, अध्यक्षगणसहित एसकेएम पार्टीका विभिन्न स्तरका कार्यकर्ता तथा व्यापक सङ्ख्यामा जनताको उपस्थिति रहेको थियो।

एसकेएम पार्टीको विकासीय कार्यक्रम, समावेशी नीति तथा प्रतिबद्ध सिद्धान्तलाई मन पराएर अहिले विपक्षी पार्टी छोड़ेर एसकेएममा सामेल हुने ठूलो लहर चलेको छ।

यसै क्रममा आज विपक्षी एसडीएफ पार्टीका वरिष्ठ नेताहरू आफ्नो पुरानो पार्टी त्यागेर एसकेएममा सामेल भएका छन्।

एसकेएम पार्टीमा सामेल हुनेहरूमा एसडीएफका वरिष्ठ नेता तथा पूर्वमन्त्री मेन्लम लेप्चा, पूर्व राज्यसभा सांसद ओटी लेप्चा, विधानसभाका पूर्व अध्यक्ष सीबी सुब्बा, पूर्व सल्लाहकार शेरहाङ सुब्बालगायत, नुक छिरिङ भोटिया, बिना राईलगायत  अन्य धेरै वरिष्ठ पदाधिकारीहरू एसकेएममा सामेल भए।

स्मरण रहोस्, रिञ्चेनपोङ समष्टिबाट मात्र आज 2,260 जना एसकेएम पार्टीमा सामेल भए।

सामेली कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा मुख्यमन्त्री गोलेले एसकेएम पार्टी सबैलाई एकसाथमा लिएर अघि बढ्ने उद्देश्य लिएको पार्टी रहेको बताए। उनले भने, “दुश्मनी होइन, सबै मित्रवत् भावना बोकेर सिक्किम र सिक्किमे समाज निर्माणमा अघि बढ्नुपर्छ। सबैको मन मिल्यो भने सिक्किम स्वतः स्वर्ग बन्छ। यही विचारलाई लिएर एसकेएम पार्टीले सबैलाई पार्टीमा समावेश गराउने नीति लिएको हो। जुन व्यक्तिले सबैलाई अँगालेर अघि बढ्न सक्दैन, त्यो व्यक्तिले सफलता हासिल गर्न सक्दैन। हामी सिक्किम र सिक्किमे जनताका निम्ति सुखद् भविष्य निर्माण गर्ने लक्ष्य लिएर हिँडेका छौं अनि हामी सफलता प्राप्त गर्न चाहन्छौं। त्यसैले हामी समावेशी राजनीतिक नीतिलाई आत्मसात गरेर अघि बढ़िरहेका छौं।”

पार्टी अध्यक्षले अघि भने, “एसकेएम पार्टीको सिद्धान्त भनेको प्रजातान्त्रिक समाजवाद हो। प्रजातान्त्रिक समाजवादमा विभेद हुँदैन। हामी कसैलाई विभेदको दृष्टिले हेर्न चाहँदैनौं। पहिलाको सरकारमा विभेदको नीति अपनाइन्थ्यो। एउटा गाउँमा 50 वटा परिवार छन् भने तीमध्ये एउटा परिवारलाई गाई दिएर सबैलाई दूध बाँड्नु है भनिन्थ्यो। हामी त्यस्तो विभेदकारी नीति लिँदैनौं। हामी 50 परिवारलाई नै गाई दिएर दिन्छौं। समाजवाद त्यो हो। हामी त्यसरी काम गर्न सरकारमा आएका हौं।”

गोलेले समावेशी राजनीतिबारे बताउँदै भने, “समावेशी राजनीतिले पार्टीलाई नोक्सान कहिल्यै पुर्‍याउँदैन, तर फाइदा दिलाउँछ। सबै एक भएर, हातेमालो गर्दै हिँड्दा कसरी नोक्सान हुन्छ? एकलकाँटे कुरा गर्दा चाहिँ पार्टीलाई नोक्सान हुन्छ। त्यसैले एकलकाँटे कुरा नगरौं। सबै साथ मिलेर अघि बढ़ौं।”

उनले राजनीतिलाई ट्रेनको संज्ञा दिँदै भने, “दिल्लीबाट एनजेपी हिँड़ेको ट्रेनले बाटोमा धेरै स्टेशन भेट्छ। स्टेशनैपिच्छे यात्रीहरू ओर्लिन्छन्। यदि यात्री ओर्लिने मात्रै भएर र चढ्ने भएनन् भने एनजेपी आइपुग्दा ट्रेन खालि हुन्छ। त्यसैले स्टेशन-स्टेशनमा चढ्ने यात्रीलाई पनि ठाउँ दिनुपर्छ। हामी त्यस्तो राजनीति गर्दैछौँ। हामीले यात्रीलाई ओर्लिने अवसर मात्र होइन चढ़्ने अवसर पनि दिनुपर्छ। त्यसैले ट्रेन भरिरहन्छ।”

एसकेएम पार्टी अध्यक्ष गोलेले 2024 मा एसकेएम पार्टीलाई अपार मतले जिताउने आह्वान गर्दै मीठो परिणामका लागि सबैले खटेर काम गर्न अपील गरे।

पार्टी कार्यकर्तालाई मौरीजस्तो हुनुपर्ने आह्वान गर्दै गोलेले भने, “मौरीहरू गुँड़मा एउटै डल्लो भएर बस्छन् र मीठो मह उत्पादन गर्छन्। त्यसरी नै हामी पनि सबै एक भएर बसे 2024 मा अवश्यै महजस्तै मीठो परिणाम प्राप्त गर्नसक्छौं।”

एसकेएम पार्टीले युवावर्गलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको उनले दाबी गरे।

उनले भने, “युवाहरू भविष्यका कर्णधार हुन्। त्यसैले एसकेएम पार्टी युवामुखी पार्टी हो। पूर्वको सत्तारूढ़ एसडीएफ पार्टीका नाइकेले युवालाई कहिल्यै गन्ती गरेनन्। युवाहरूलाई बोन्साई बनाएर राखिएको थियो। सिटिङ रूममा राखिएको बोन्साईजस्तो। एउटै कोठामा कोचार्ने, मर्न लागे पानी हाल्ने तर गर्न केही नदिने। त्यस्तो अवस्थामा युवाहरूलाई राखेका थिए पवन चामलिङले। तर हामी युवाहरूलाई अघि आएर काम गर्ने आह्वान गर्छौं। युवाहरू नै हुन् भविष्यमा देश र राज्य सञ्चालन गर्ने। यो हाम्रो पार्टीको युवा नीति हो।”

पार्टी अध्यक्षले अझ भने, “सिक्किममा मेरो विकल्प छैन भन्ने पवन चामलिङजस्ता नेता होइन म। मेरो त विकल्प जन्मिसकेको छ। पार्टीभित्रबाट मेरो विकल्प आइसकेको छ। भविष्यमा म खुशी-खुशी सत्ता हस्तान्तरण गर्नेछु। मुख्यमन्त्रीको पदमा म मात्र बसिरहनुपर्छ भन्नु गलत हो। हाम्रो पार्टीको सिद्धान्त छ, एक व्यक्ति लामो समयसम्म मन्त्री तथा मुख्यमन्त्रीको पदमा बस्न पाउँदैन। हामी हाम्रो सिद्धान्त र नीतिमा अडिग छौं। म मुख्यमन्त्री भए तापनि मेरा परिवारलाई ऐश-आराम दिलाउने मेरो ध्येय र लक्ष्य छैन। सिक्किमे आम नागरिकले आराम पाऊन् भन्ने मेरो लक्ष्य हो। पवन चामलिङले जस्तो आफ्ना परिवारका सदस्यलाई व्यापारको साम्राज्य दिन आएको होइन म। ठूल्ठूलो व्यवसायको कामतिर परिवारका सदस्यलाई लाग्न दिन्नँ म, यो मेरो वचन हो।”

आफ्नो सम्बोधनलाई अघि बढ़ाउँदै उनले भने, “विपक्षमा रहेका सबैलाई आफ्नो पार्टीमा सामेल गराएर राज्यमा विपक्ष राख्नु हुँदैन भन्ने मेरो विचार पनि होइन। विपक्ष हुनुपर्छ। विपक्षी पार्टी छ भने मात्र हामीले आफ्नो कमजोरी नियाल्न पाउँछौँ। विपक्ष पार्टी छ भने मात्र सत्तारूढ़ पार्टीले ठीकसँग काम गर्नसक्छ।”

पार्टीका प्रवक्ता जेकब खालिङद्वारा सञ्चालित आजको सामेली कार्यक्रमलाई गत 18 फरवरीमा एसकेएम पार्टीमा सामेल हुने कृष्ण लेप्चा, असित राई, छिरिङ ग्याछो लेप्चाले पनि सम्बोधन गरेको पार्टीकी प्रचार सचिव रञ्जना प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here