दार्जीलिङ, 25 फरवरीः बङ्गाल विधानसभा चुनाउअघि नै गोर्खा जातिका गैरजनजाति समुदायहरूलाई जनजातिको मर्यादा नदिए गोर्खा समुदायका 21 वटा जातगोष्ठी सम्मिलित युनाइटेड इण्डिजिनियस गोर्खा कम्युनिटी फोरमले ‘नो एसटी-नो भोट-को नारा दिएर भोट बहिष्कार गर्ने चेताउनी दिएको छ।
आज फोरमले जनजाति विषय लिएर एक सभाको आयोजन गरेको थियो, जसमा विभिन्न विषयमाथि चर्चा-परिचर्चा गरिएको फोरमका उपाध्यक्ष अशोक गुरुङले बताए।
उनले भने, “दार्जीलिङका सांसद राजु बिष्टले गत वर्षको नोभेम्बर महिनामा युनाइटेड इण्डिजिनियस गोर्खा कम्युनिटी फोरमको एक प्रतिनिधि टोलीलाई बङ्गाल विधानसभा चुनाउअघि नै गोर्खा जातिका गैर-जनजाति समुदायलाई जनजातिको मर्यादा दिलाएर छोड्ने वचन दिएका थिए। तर, चुनाउ नजिक आइरहेको छ, अझैसम्म पनि यसमाथि केन्द्र सरकारबाट ठोस पहल भएकै छैन। वर्तमान स्थितिबाट जनजातिको मुद्दा फत्ते हुन नसक्ने सङ्केत पाउन थालिएको छ, यसैले फोरमका शाखा-प्रशाखा समितिहरूले फोरमको केन्द्रिय समितिमाथि ‘नो एसटी-नो भोट’-का लागि चाप दिइरहेका छन्।”
यद्यपि फोरमको केन्द्रिय समितिले अहिलेसम्म यसमाथि अन्तिम निर्णय लिइ नहालेको गुरुङले बताए।
यसका साथै उनले यस विषय लिएर शीघ्रै फोरमको एक प्रतिनिधि टोलीले केन्द्रिय गृहमन्त्री अमित शाह र भारतीय जनता पार्टीका बङ्गाल राज्य अध्यक्ष दिलीप घोषसित भेट गर्ने योजना बनाएको बताए।
अशोक गुरुङले थपे, “किनभने, दार्जीलिङका सांसद राजु बिष्टले गत 23 फरवरीको दिन दार्जीलिङमा सम्पन्न भएको भाजपाको परिवर्तन यात्राअघि आयोजित एक जनसभालाई सम्बोधन गर्दै उनले 11 जात-गोष्ठीलाई जनजातिको मर्यादा दिनेबारे सम्पूर्ण कागज-पत्रहरू सम्बन्धित विभागसमक्ष दिइसकेको र यसका लागि लगातार कार्य गरिरहेको बताएका थिए। साथै यसमाथि केन्द्रिय गृहमन्त्री अमित शाहले नै अन्तिम निर्णय लिने र यो कार्य अवश्यै पूर्ण हुने पनि सांसद बिष्टले बताएका थिए। यसैकारण फोरमले शीघ्रै गृहमन्त्री अमित शाहसित भेट गरी यसमाथि चर्चा गर्ने योजना बनाएको छ।”
यति मात्रै होइन, 11 जात-गोष्ठीलाई जनजातिको मर्यादा दिनुपर्ने मागमा सरकारमाथि चाप सृजना गर्ने उद्देश्यले आउँदो 7 मार्चको दिन फोरमले दार्जीलिङ, अलिपुरद्वार, जयगाउँ, वीरपाड़ा आदि स्थानमा धर्ना प्रदर्शन गर्ने कार्यक्रम पनि बनाएको छ।
फोरमले गत 23 फरवरीको दिन यसै मागका लागि कालेबुङमा पनि धरना प्रदर्शन गरेको थियो।