गान्तोक, 25 फरवरीः सिक्किममा आउँदो 31 मार्चका दिन नगर निकायको चुनाउ हुनेछ। मतगणना 3 अप्रेलमा हुनेछ।
राज्य चुनाउ आयोगकी मुख्य आयुक्त निमा एल. एथेन्पाले एउटा पत्रकार सम्मेलन आयोजन गरी चुनाउ मितिको घोषणा गरेकी हुन्।
आधिकारिक रूपमा चुनाउ मिति आज घोषणा भए पनि यसको अधिसूचना भने आउँदो 1 मार्चका दिन जारी हुनेछ। अधिसूचना जारी हुनसाथै राज्यका शहरी क्षेत्रहरूमा चुनाउ आचार संहिता पनि लागू हुने मुख्य आयुक्तले जनाएकी छन्।
उम्मेदवारहरूले 8 मार्चभित्र नामाङ्कन भर्न सक्नेछन् भने 9 मार्चका दिन नामाङ्कनको जाँच हुनेछ। 11 मार्चको दिन नामाङ्कन फिर्ता लिने अन्तिम मिति रहेको छ।
पूर्व जिल्लाको गान्तोक नगर निगम, सिङ्ताम नगर पञ्चायत र रम्फू नगर पञ्चायतका लागि चुनाउ हुनेछ भने दक्षिण जिल्लामा नाम्ची नगर परिषद र नयाँ बजार-जोरथाङ नगर पञ्चायतका लागि चुनाउ हुनेछ।
पश्चिम जिल्लामा गेजिङ नगर पञ्चायत अनि उत्तर जिल्लामा मङ्गन नगर पञ्चायतका लागि चुनाउ हुनेछ।
गान्तोक नगर निगममा पहिलाको 17 वटा वार्डलाई बढ़ाएर 19 गरिएको छ भने गेजिङ नगर पञ्चायत र नयाँ बजार जोरथाङ नगर पञ्चायतको सिट सङ्ख्या घटाइएको छ। गान्तोक नगर निगममा बोजोघारी 2 माइल र पानी हाउसलाई नयॉं वार्डको रूपमा सामेल गरिएको छ।
आयोगकी मुख्य आयुक्त एथेन्पाले यसपालिको चुनाउ पार्टी आधारित नहुने हुनाले उम्मेदवारहरूले कुनै पनि राजनीतिक दलको सहयोग बिनै लड्नुपर्ने बताएकी छन्।
उनले कुनै पनि उम्मेदवारलाई राजनीतिक दलहरूले सघाउन नपाउने पनि बताएकी छन्।
कुनै पनि राजनीतिक दलका नेताहरूले पनि उम्मेदवारहरूका लागि प्रचार गर्नु पाउने छैनन्।
उनले दिएको जानकारी अनुसार यसवर्षको चुनाउ कुल 51 वार्डमा हुनेछ।
यी वार्डका लागि कुल 90 वटा पोलिङ स्टेशन हुनेछन्।
यसरी नै यस वर्षको नगर निकायको चुनाउमा कुल 42341 पुरुष अनि 40475 महिला मतदाताहरूले मतदान गर्नेछन्।