नयाँ दिल्ली, २६ फरवरीः पश्चिम बङ्गालसहित पाँच राज्यको विधानसभा चुनाउको मितिको घोषणा चुनाउ आयोगले आज गरेको छ।
बङ्गालमा ८ चरणमा मतदान हुनेछ। पहिलो चरणको मतदान २७ मार्चमा हुनेछ।
मुख्य चुनाउ आयुक्त सुनिल अरोड़ाका अनुसार दार्जीलिङ र कालेबुङ जिल्लामा पाँचौँ चरणमा १७ अप्रेलका दिन मतदान हुनेछ। यसैदिन दार्जीलिङ र कालेबुङ जिल्लालगायत २४ परगाना उत्तर-१, नदिया-१, २४ परगाना दक्षिण-३ र पूर्व बर्धमान-१ पनि मतदान हुनेछ।
बङ्गालमा अन्तिम अर्थात् आठौँ चरणको मतदान २९ अप्रेलका दिन सम्पन्न हुनेछ। मतगणना २ मईका दिन हुनेछ।
कुन चरणको मतदान कहिले अनि कहाँ?
पहिलो चरणमा पुरुलिया, झारग्राम, बाँकुड़ा भाग-१, पश्चिम मेदिनीपुर भाग-१ र पूर्व मेदिनीपुर भाग-१-का ३० वटा विधानसभा समष्टिमा २७ मार्चका दिन चुनाउ हुनेछ।
पहिलो चरणको चुनाउका लागि २ मार्चका दिन अधिसूचना जारी हुनेछ। नामाङ्कन भर्ने अन्तिम दिन ९ मार्च रहेको छ। नामाङ्कन फिर्ता लिने अन्तिम मिति १२ मार्च रहेको छ।
दोस्रो चरणमा बाँकुड़ा भाग-२, पश्चिम मेदिनापुर भाग-२, पूर्व मेदिनापुर भाग-२, दक्षिण २४ परगाना भाग-१ का ३० विधानसभा समष्टिमा १ अप्रेलका दिन चुनाउ हुनेछ।
दोस्रो चरणको चुनाउका लागि ५ मार्चका दिन अधिसूचना जारी हुनेछ। नामाङ्कन भर्ने अन्तिम मिति १२ मार्च तथा नामाङ्कन फिर्ता लिने अन्तिम मिति १७ मार्च रहेका छन्।
तेस्रो चरणमा हावड़ा भाग-१, हुगली भाग-१, दक्षिण २४ परगाना भाग-२ गरी ३१ विधानसभा समष्टिका लागि ६ अप्रेलका दिन चुनाउ हुनेछ।
तेस्रो चरणको चुनाउका लागि १२ मार्चका दिन अधिसूचना जारी हुनेछ। नामाङ्कन भर्ने अन्तिम मिति १९ मार्च तथा नामाङ्कन फिर्ता लिने अन्तिम मिति २१ मार्च रहेको छ।
चौथो चरणमा हावड़ा भाग-२, हुगली भाग-२, दक्षिण २४ परगाना भाग-३ र अलिपुरद्वारका ५ वटै विधानसभा समष्टि र कोचबिहारका ९ वटै विधानसभा समष्टि गरी कुल ४४ विधानसभा समष्टिमा १० अप्रेलका दिन चुनाउ हुनेछ।
चौथो चरणको चुनाउका लागि १६ मार्चका दिन अधिसूचना जारी हुनेछ। नामाङ्कन भर्ने अन्तिम मिति २३ मार्च तथा नामाङ्कन फिर्ता लिने अन्तिम मिति २६ मार्च रहेको छ।
पाँचौ चरणमा उत्तर २४ परगाना भाग-१, नदिया भाग-१, दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी, पूर्व बर्धमान भाग-१ का ४५ वटा विधानसभा समष्टिमा १७ अप्रेलका दिन चुनाउ हुनेछ।
पाँचौँ चरणको चुनाउका लागि २३ मार्चका दिन अधिसूचना जारी हुनेछ। नामाङ्कन भर्ने अन्तिम मिति २८ मार्च र नामाङ्कन फिर्ता लिने अन्तिम मिति ३ अप्रेल रहेको छ।
छैटौँ चरणमा उत्तर २४ परगाना भाग-२, नदिया भाग-२, पूर्व बर्धमान भाग-२, उत्तर दिनाजपुर भाग -२ का ४३ वटा विधानसभा समष्टिमा २२ अप्रेलका दिन चुनाउ हुनेछ।
सातौँ चरणमा मालदा भाग-१, मुर्शिदाबाद भाग-१, पश्चिम बर्धमान, दक्षिण कोलकाता र दक्षिण दिनाजपुर गरी ३६ वटा विधानसभा समष्टिमा २६ अप्रेलका दिन चुनाउ हुनेछ।
सातौँ चरणको चुनाउका लागि ३१ मार्चका दिन अधिसूचना जारी हुनेछ। नामाङ्कन भर्ने अन्तिम मिति ७ अप्रेल तथा नामाङ्कन फिर्ता लिने अन्तिम मिति १२ अप्रेलका दिन रहेको छ।
छैटौँ चरणको चुनाउका लागि २६ मार्चका दिन अधिसूचना जारी हुनेछ। नामाङ्कन भर्ने अन्तिम मिति ३ अप्रेल र नामाङ्कन फिर्ता लिने अन्तिम मिति ७ अप्रेल रहेको छ।
आठौँ चरणमा मालदा भाग-२, मुर्शिदाबाद भाग-२, वीरभुम, उत्तर कोलकाता गरी २५ विधानसभा समष्टिमा २९ अप्रेलका दिन चुनाउ हुनेछ।
आठौँ तथा अन्तिम चरणको चुनाउका लागि ३१ मार्चका दिन अधिसूचना जारी हुनेछ। नामाङ्कन भर्ने अन्तिम मिति ७ अप्रेल तथा नामाङ्कन फिर्ता लिने अन्तिम मिति १२ अप्रेल रहेका छन्।
बङ्गालमा कुल २९४ विधानसभा सिट रहेको छ। बहुमतको आँकड़ा १४८ रहेको छ।
२०१६ मा भएको विधानसभा चुनाउमा ममता ब्यानर्जीनेतृत्व तृणमूल कङ्ग्रेसले २११ सिट जितेर दोस्रोपटक बङ्गालको सत्ता हत्याएको थियो।
२०१६ को चुनाउमा कङ्ग्रेसले ४४, मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)-ले २६, भाजपाले ३, गोर्खा जनमुक्ति मोर्चाले ३, अल इन्डिया फर्वर्ड ब्लकले २, सीपीआईले १ र निर्दलीय उम्मेदवारले १ सिट जितेको थियो।
अर्कोतिर यसपालि कोरोना महामारीलाई ध्यानमा राखेर मतदानको समय एक घण्टा बढ़ाइएको छ।