विधानसभामा पारित जनजाति मान्यताको प्रस्ताव डस्टबिनमा जाने केबी राईको ठोकुवा

0
1246

गान्तोक, २७ फरवरीः सिक्किम रिपब्लिकन पार्टीले आज पाँचौं स्थापना दिवस सरमसा नजिकैको रिभर भ्यूमा पालन गऱ्यो।

यस वर्ष कोरोना महामारीका कारण एउटा सामान्य कार्यक्रमको रुपमा स्थापना दिवस पालन गरिएको थियो।

पार्टीका निवर्तमान अध्यक्ष केबी राईको मुख्य आतिथ्यमा आयोजित कार्यक्रममा चारै जिल्लाबाट पार्टीका कार्यकर्ताहरूले सहभागिता जनाएका थिए।

आजको कार्यक्रममा पार्टीले 6 वटा प्रस्ताव पारित गरेको छ।

पार्टीले सिक्किमका मूल रैथाने भोटिया, लेप्चा, नेपाली र पुराना व्यापारीबीच बराबरीको राजनीतिक हक र अधिकारका लागि निरन्तर लड़िरहने प्रस्ताव ग्रहण गरेको छ।

सिक्किमका अन्य पार्टी र नेताहरूले केन्द्रिय पार्टीको अघि आत्मसमर्पण गरिसकेको दाबी गर्दै एसआरपीले त्यो आवश्यकता पूरा गर्ने प्रस्ताव ग्रहण गरेको छ।

यसैगरी नेपाली सीटको पुनर्बहाली, जनजातिको मान्यता, लिम्बू तामाङलाई जनजाति आसन आरक्षण आदिलाई लिएर राज्य सरकारले तत्परता नदेखाएको खण्डमा सड़कमा निस्केर आन्दोलन गर्ने, आउँदो नगरपालिका चुनाउ साथै भावी पञ्चायत चुनाउलाई पार्टीमुक्त तथा स्वतन्त्र बनाएकोमा स्वागत जनाउने तर पर्दापछिबाट कुनै पार्टीले हस्तक्षेप गर्न नपाउने पार्टीले जनाएको छ।

यसैगरी गेजिङ महाविद्यालयका निष्कासित चारजना विद्यार्थीहरूलाई यथाशीघ्र फिर्ता गर्नुपर्ने पार्टीको माग रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष केबी राईले जबसम्म सिक्किमेली नेपालीहरूमाथि प्रवासीको लाञ्छना लागिरहन्छ तबसम्म छुटेका जातगोष्ठीले जनजातिको मान्यता पाउन नसक्ने बताए।

एसकेएम सरकारले विधानसभामा सरकारी प्रस्ताव पारित गर्नुभन्दा पहिले सिक्किमेली नेपाली समुदायमाथि लागेको यो दाग पखाल्ने काम गर्नुपर्ने उनले बताए।

राज्य सरकारले भर्खरै पारित गरेको प्रस्तावको विरोधमा केन्द्र सरकारसमक्ष अगावै आपत्ति पुगिसकेको छ भन्दै अब त्यो प्रस्ताव रद्दी टोकरीमा पुग्ने राईले ठोकुवा गरे।

जनजाति सिटबारे बोल्दै उनले राज्य सरकारले चाँड़ै वैज्ञानिक फर्मूला अघि ल्याउनुपर्ने माग पनि गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here