गोरामुमो र एचपीडब्ल्यूयूले कोअपरेटिभ बनाएर बन्द चियाकमानहरू चलाउने

0
1027

दार्जीलिङ, २८ फरवरीः गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-ले दार्जीलिङ पहाड़का बन्द चियाकमानहरूलाई अब कोअपरेटिभ बनाएर सञ्चालन गर्ने योजना बनाएको छ।

यसका साथै अब चियाश्रमिकहरूमाथि अन्याय गर्ने चियाबगान मालिकहरूको विरोधमा गोरामुमो र गोरामुमोको श्रमिक संगठन एचपीडब्ल्यूयू (हिमालयन प्लान्टेशन वर्कर्स युनियन) उच्च न्यायालयसम्म जाने पनि चेताउनी दिएको छ।

करिब २ महिनादेखि बन्द अवस्थामा रहेको सिङ्ताम चियाकमानमा एक कार्यक्रमलाई सम्बोधन गर्दै गोरामुमो दार्जीलिङ शाखा अध्यक्ष अजय एड्वर्डले भने, “अब चियाश्रमिकहरूका लागि राम्रो काम गर्ने चियाकमानका मालिकहरूलाई गोरामुमोले पूर्ण साथ दिनेछ। तर, चियाश्रमिकहरूमाथि अन्याय गर्नेहरूलाई अदालतमा उभ्याउनेछ।”

उनले सिङ्ताम चियाकमानका मालिकलाई 1 महिनाभित्र यो चियाकमान खोल्ने अपील गरे। साथै मालिकले यो चियाकमान नखोलेको खण्डमा मालिकविरुद्ध उच्च न्यायालय जाने चेताउनी दिए।

उल्लेखनीय छ, हाल दार्जीलिङको सिङ्ला, सिङ्ताम, पेशोक, कलेजभेल्ली, धोत्रे आदि चियाबगानहरू अचल अवस्थामा छन्।

यसरी नै लङ्भ्यू चियाकमानको अवस्था पनि यस्तै बनेको छ।

यसैले गोरामुमो नेता एड्वर्डले यी सबै चियाकमानका मालिकहरूलाई शीघ्र आ-आफ्नो चियाकमानलाई पुनः सञ्चालन गरेर चियाश्रमिकहरूको अधिकार आदि पनि प्रदान गर्ने माग गरे।

“अब ब्रिटिश शासन छैन अनि समय धेरै परिवर्तन भएर गइसकेको छ। विगतका राजनैतिक नेताहरूले चियाकमानका मालिकहरूको विरोधमा केही गर्न सक्तैन थिए, किनभने उनीहरू ती चियाकमानका मालिकहरूले दिएको गाड़ीमा नै चढ़ेर मौज गर्थे। तर गोरामुमोले यस्तो कदापि मान्दैन। कञ्चनभ्यू चियाकमानका मालिकले पनि चियाश्रमिकहरूमाथि धेरै अत्याचार गरिरहेका छन्। चियाकमानमा वर्षौंदेखि बसोबासो गर्दै आइरहेका बासिन्दाहरूलाई बाहिरको भन्दै त्यहाँबाट भगाउने प्रयास गरिरहेका छन् साथै उनीहरूविरुद्ध मुद्दा दर्ता गर्ने कार्य गरिरहेका छन्। चियाका बुट्टाहरू हटाएर रिसोर्ट बनाउने कार्य गरिरहेका छन्, बिल्डिङ बनाएर फ्ल्याटको रूपमा बेच्ने कार्य गरिरहेका छन्”, उनले थपे, “यस चियाकमानका मालिकले यसप्रकारको कार्य शीघ्र बन्द गर्नुपर्छ, नत्र गोरामुमोले उनीविरुद्ध पनि कठोर पदक्षेप ग्रहण गर्नेछ। यदि कञ्चनभ्यू चियाबगानका श्रमिक अनि आम नागरिकहरूमाथि अत्याचार जारी रहन्छ भने ती मालिकका सम्पत्तिहरू पनि रहनेछैन। यसैले कञ्चनभ्यू चियाकमानका मालिकले शीघ्र त्यहाँका बासिन्दाहरूसित बसेर सम्झौता गर्नुपर्छ, नत्र उनको करोड़-करोड़को लागतमा निर्माण भएको रिसोर्टहरू नष्ट भएर जानेछ।”

यति मात्रै होइन, यस चियाकमानका मालिकले श्रमिकहरूलाई चियाकमान बन्द गर्ने धम्की पनि दिइरहेको अजय एड्वर्डले बताए।

“यदि यो चियबगान बन्द गर्छ भने गरून्, यी चियाश्रमिकहरूको रोजी अजय एड्वर्डले दिनेछ”, उनले स्पष्ट शब्दमा भने।

बङ्गाल विधानसभा चुनाउपछि सम्पूर्ण बन्द अवस्थामा रहेका सबै चियाकमान कोअपरेटिभ बनाएर चलाउने योजना बनाएको बताउँदै यसका लागि लाग्ने खर्च गोरामुमो र एचपीडब्ल्यूयूले व्योहोर्ने एड्वर्डले बताए।

उनले विगतमा चियाकमान मालिक सङ्गठनबाट राजनैतिक नेताहरूले वर्षमा दुईपल्ट पैसा लिने गरेको पनि आरोप लगाए। तर, गोरामुमोका नेताहरूलाई त्यसरी पैसामा किन्न नसक्ने पनि दावी गरे।

अजय एड्वर्डले आफूसित टन्न पैसा रहेको बताउँदै सिङ्ताम चियाकमानका मालिकलाई पनि यो चियाकमान शीघ्र खोल्ने अपील गरे।

“बेसी भयो, अब यस्तो हामी मान्ने छैनौं”, उनले थपे।

यसैबीच, आज सिंगताम चियाबगानका विपक्षी पार्टीका 60 घर परिवार गोरामुमोमा सामेल भएको पनि पार्टोले बताएको छ।

गोरामुमोको राजनैतिक सिद्धान्त अनि कार्यप्रणाली देखेर नै यी 60 घर परिवार गोरामुमोमा सामेल भएको पार्टीका सदस्यहरूले बताएका छन्।

उनीहरूले भने, “हामीले 2007-देखि नै गोजमुमोलाई साथ दिएको हो, तर आफ्नो स्वभिमान बेचेर जातिलाई आघात पुर्‍याउने काम भएको छ। यसैकारण हामीले गोजमुमोको साथ छोड़ेर गोरामुमोलाई साथ दिने मन बनाएका हौँ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here