दार्जीलिङ, 1 मार्चः एक कम्पनी केन्द्रिय सुरक्षा बल सीआरपीएफ दार्जीलिङ आइपुगेको छ, जसले आजदेखि नै दार्जीलिङमा रूट मार्च गर्न शुरू गरेको छ।
दार्जीलिङ सदर पुलिसले बताएअनुसार, अहिलेसम्म दार्जीलिङमा केवल एक कम्पनी केन्द्रिय सुरक्षा बल आइपुगेको छ।
आउँदा दिनमा कति कम्पनी केन्द्रिय सुरक्षा बल दार्जीलिङ आउने हो, त्यो भन्न सकिँदैन।
उल्लेखनीय छ, बङ्गाल विधानसभा चुनाउलाई कठोर सुरक्षा व्यवस्थामाझ सम्पन्न गराउने उद्देश्यले नै केन्द्रिय चुनाउ आयोगले बङ्गालमा सयौं केन्द्रिय सुरक्षा बल पठाउने निर्णय लिएको छ, जसअनुसार, गत 25 फरवरीसम्म मात्रै बङ्गालका विभिन्न स्थानमा 125 कम्पनी केन्द्रिय सुरक्षा बल आइपुगेको थियो, जसमा सीआरपीएफ, बीएसएफ, आईटीबीपी, सीआईएसएफ सामेल छन्।
विशेष गरी केन्द्रमा सत्तासीन रहेको भारतीय जनता पार्टीले राज्यमा हिंसाको राजनीतिक चलिरहेको आरोप लगाउँदै बङ्गालमा राष्ट्रपति शासन लागू गर्ने पनि माग गरेको थियो।
यद्यपि, यहाँ राष्ट्रपति शासन लागू नभए पनि यसपालिको विधानसभा चुनाउलाई कठोर सुरक्षा व्यवस्थाको घेरोमाझ सम्पन्न गराउने चुनाउ आयोगले निर्णय लिएको छ।
यसै क्रममा आज दार्जीलिङमा एक कम्पनी सीआरपीएफ आइपुगेको छ, जसलाई दार्जीलिङमा आजदेखि नै रूट मार्च गराउन शुरू गरिएको छ।