दार्जीलिङ, 4 मार्चः दार्जीलिङको चर्चित होटल साङ्ग्रिला जलेर खरानी भएको छ।
होटल साङ्ग्रिला दार्जीलिङको एक महत्त्वपूर्ण अनि देश-विदेशबाट आउने पर्यटकहरूको मनै लोभ्याउने होटलको रूपमा प्रख्यात थियो।
दार्जीलिङको मुटु मानिने चौरस्ताको छेवैमा अवस्थित यस होटल, रेस्टुरेन्ट अनि बारमा आज मध्याह्न करिब 11 बजी अचानक आगो लागेको थियो।
आगलागीको चपेटमा परेर होटल लगभग पूर्णरूपले क्षतिग्रस्त बनेको छ।
यस होटलमा लागेको आगोलाई नियन्त्रणमा ल्याउन अग्निशमन विभागबाट कर्मचारीहरूका साथै स्थानीय मानिसहरूले पनि सक्दो प्रयास गरेका थिए, तर आगोले भयावह रूप लिएपछि उनीहरूको प्रयास विफल बन्यो।
दार्जीलिङको एक हेरिटेजको रूपमा नै मानिएको यस दुई तले होटलको निर्माण 70-को दशकमा भएको बताइन्छ।
यसबारे यसै होटलका महाप्रबन्धक अरुण गुरुङसित सोध्दा उनले होटलको चिम्नीबाट आगो लाग्न शुरू भएको बताए।
होटलका महाप्रबन्धक गुरुङका अनुसार आज यस होटलका 2 वटा कोठामा पर्यटक रहे तापनि घटनाको समय ती पर्यटकहरू घुम्न निस्किएका थिए।
यस होटलमा कुल 3 वटा कोठा छन् भने यो होटल विशेष रूपले रेस्टुरेन्ट अनि बारका लागि नै बढ़ी परिचित छ।
यस होटलको रेस्टुरेन्ट 12.30 बजीपछि मात्रै खोलिने भएकोले गर्दा घटनाको समयमा रेस्टुरेन्टमा पनि कोही नभएको पनि उनले बताए। यद्यपि, होटलका कर्मचारीहरू भने थिए। तर, कसैलाई आगोले केही नभएको पनि उनले बताए।
यसबारे अग्निशमन विभागका कर्मचारीहरूले बताएअनुसार, यस होटलमा आगो लागेको खबर पाउनसाथ अग्निशमन विभागका कर्मचारीहरू यहाँ आएका थिए, तर उनीहरू यहाँ आइपुग्दा आगोले विकराल रूप लिइसकेको थियो। तरै, पनि उनीहरूले स्थानीय नागरिकहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए, फलस्वरूप 3 घण्टाको कठोर मिहिनेतपछि आगो नियन्त्रणमा आए पनि होटलको अधिकांश भाग स्वाहा बनिसकेको थियो।