विमलपन्थी मोर्चाले पहाड़का तीनैवटा आसनमा उम्मेदवार खड़ा गर्ने

0
1092

दार्जीलिङ, 5 मार्च: विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले पहाड़का तीनैवटा आसनमा उम्मेदवार खड़ा गरेर आफ्नै बलबुतामा चुनाउ लड़ने घोषणा गरेको छ।

पार्टी महासचिव रोशन गिरीले एक विज्ञप्ति जारी गरी गोर्खा जनमुक्ति मोर्चा एक क्षेत्रीय पार्टी भएकाले तथा पार्टी र पहाड़का जनताका लागि दार्जीलिङ, खरसाङ र कालेबुङको विधानसभा आसन आत्मसम्मानको विषय बताएका छन्।

‘गणतन्त्रमा जनता जनार्दन भनेको ईश्वरका प्रतीक हुन्। उनै ईश्वररूपी जनता जनार्दनको आत्मसम्मान रक्षाका लागि साथै यहाँको जनाकाँक्षालाई कदर गर्दै विधानसभा चुनाउमा दार् दार्जीलिङ पहाड़का तीनैवटा सिटमा गोर्खा जनमुक्ति मोर्चाले आफ्नो उम्मेदवार दिएर आफ्नै बलबुतामा चुनाउ लड़ने घोषणा गर्दछ’, उनले विज्ञप्तिमा भनेका छन्।

यसका साथै बङ्गाल विधानसभाका सबै सिटमा अनि विशेषगरी तराई अनि डुवर्सका 14 सिटमा गोजमुमोले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका स्थायी राजनैतिक समाधानका लागि चुनावी सम्झौताअनुसार तृणमूल कङ्ग्रेसलाई सघाउने निर्णय गरेको पनि गिरीले बताएका छन्।

‘यो चुनाउमा जातिको अस्मिता र गरिमा बचाइराख्न गोर्खा जनमुक्ति मोर्चाको यस निर्णयलाई आत्मसात गरेर अघि बढ़्नका लागि हाम्रो पार्टीका सबै नेतृत्व, साधारण सदस्यहरूलगायत सम्पूर्ण जनता जनार्दनप्रति गोर्खा जनमुक्ति मोर्चा आह्वान गर्दछ’ विमलपन्थी मोर्चा महासचिव रोशन गिरीले विज्ञप्तिमा भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here