शहीदको सपनालाई जसरी पनि पूरा गर्ने विमलको दाबी, भने- बङ्गालको दलाली गर्ने सत्ताभोगीलाई शहीदको रगतले अवश्यै पिर्नेछ

0
2257

दार्जीलिङ, 8 फरवरी : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी शहीदको सपनालाई जसरी भए पनि पूरा गर्ने दाबी गरेका छन्।

विमलले सिब्सु गोलीकाण्डमा शहीद भएका बिक्की लामा, विमला राई र नीता खवासले छुट्टै राज्य गोर्खाल्याण्डका लागि दिएको प्राणको आहुतिलाई स्मरण गर्दै यस्तो दाबी गरेका हुन्। गुरुङले शहीदहरूको सपनालाई पूरा गर्न सबै सङ्कल्पित हुनुपर्ने पनि आह्वान गरेका छन्।

उनले आज (8 फरवरी) बलिदान दिवसको दिन सबैले जातपात र पार्टी नछुटाइकन सिङ्गो गोर्खा भएर लड़ाइँ लड़्नेपर्ने सङ्कल्प लिनु अत्यावश्यक रहेको पनि बताएका छन्। साथै गुरुङले अहिलेसम्म गोर्खाल्याण्डको लक्ष्य  प्राप्त हुन नसक्नुको कारण गोर्खामा विभीषणहरू जन्मिरहेकोले हो भन्ने बताउँदै ती विभीषणहरूलाई साथ दिने सबै नै गोर्खाल्याण्डको मार्गमा बाधा दिने विभीषणहरू हुन् भन्ने बताएका छन्।

“गोर्खाल्याण्डका लागि तीन सङ्ग्रामी युवा बिक्की लामा, विमला राई र नीता खवासले सिब्सुमा प्राणको आहुति दिएको पनि आज 8 वर्ष पुगेर 9 वर्ष लाग्यो। आज पनि हाम्रो जहाँको त्यहीं नै छ। हामीले हाम्रो तर्फबाट प्रयासमा कमी ल्याएका छैनौं। हामीले कहिल्यै राज्यको दबाउलाई टेरेनौं’’, उनले विज्ञप्तिमा थप लेखेका छन्, “आज पनि हामी घरबार त्यागेर शहीदको सपनालाई मन प्राणमा राखेर एउटा घोषित लड़ाइँ लड़िरहेका छौं। गोर्खाल्याण्डसँगको सम्झौताको टेबलमा बस्न हामीले कहिले चाहेनौं। यसैले नै भाषामाथि अतिक्रमण हुँदा हामीले सम्झौता गरेनौं। हामीले सम्झौता गरेको भए आज हामी सत्तामा नै हुनेथियौं, तर हामीले शहीदको सपनालाई सम्मान गऱ्यौं र आफ्नो जातिको स्वाभिमानलाई झुक्न दिएनौं।’’

गुरुङका अनुसार 8 फरवरी 2011 –मा सिब्सुमा तीन युवाले प्राणको आहुति दिएको दिनलाई उनीहरूले बलिदान दिवसको रूपमा पालन गर्दै आइरहेका छन्।

बङ्गाल पुलिसको बन्दुकबाट निस्किएको क्रुर गोलीले यी तीन युवा शहीद भएको घटनालाई उनीहरूले कहिले नबिर्सिने र सम्पूर्ण गोर्खा जातिले पन  बिर्सिनु नहुने गुरुङले विज्ञप्तिमा बताएका छन्। उनले भनेका छन्, “बिक्की लामा, विमला राई र नीता खवासले सिब्सुमा दिएको बलिदानलाई, अकबर लामा र सोलो कान्छा दोर्जीलगायत अहिलेसम्मका गोर्खाल्याण्डका सबै शहीदहरूले दिएको उत्सर्गलाई छातीभरि भरेर माटोप्रतिको कर्तव्यलाई पालन गऱ्यौं भने हामीलाई गोर्खाल्याण्ड प्राप्त गर्नुबाट कसैले रोक्न सक्दैन।’’

उनले विज्ञप्तिमा लेखेका छन्, “मलाई थाहा लागेअनुसार आज सिब्सुको शहीद वेदीमा श्रद्धाञ्जली कार्यक्रम राखेर शहीदको परिवारलाई अहिले सत्तासँग सम्झौता गर्नेहरूले बोलाएका रहेछन्। शहीदको रगतमाथि राजनीति गरेर आफ्नो दूनो सोझ्याउनेहरू ती बोलाउनेहरू नै हुन्। वास्तवमा बङ्गालसँग बिकेर राजनीति गर्नेहरूको जातिघाती पापी हातहरूले शहीदको वेदीमा छुनेसम्म अधिकार छैन।’’

विमल गुरुङले थप लेखेका छन्, “शहीदको रगत र सपना कसैको भात खाने भाँड़ो होइन। शहीदको नाम कसैलाई सत्ताको कुर्सीमा पुऱ्याउने राजनीतिको सिँड़ी पनि होइन, तर बङ्गालीको दलाली गर्ने सत्ताको भोगीहरूले शहीदलाई राजनीतिक रूपमा प्रयोग गर्दैछन्। मलाई विश्वास छ, शहीदको रगतले उनीहरूलाई एकदिन अवश्यै पिर्नेछ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here