दार्जीलिङ, 6 मार्चः दार्जीलिङका सांसद राजु बिष्टले जीटीएलाई लथालिङ्ग पार्ने षड़यन्त्र गरेको भन्दै विनय तामाङपन्थी गोजमुमोले निन्दा गर्नका साथै यस्तो षड़यन्त्रलाई सफल हुन नदिने प्रतिबद्धता जाहेर गरेको छ।
पार्टी प्रवक्ता केशवराज पोख्रेलले भनेका छन्, “भाजपा, भाजपाको गठबन्धन र सांसद राजु बिष्टले दार्जीलिङ नगरपालिकालाई लथालिङ्गै पारेका छन्, अब उनीहरूले जीटीएलाई पनि लथालिङ्गै पार्ने षड़यन्त्र गरिरहेका छन्। तर, उनीहरूको षड़यन्त्र कदापि सफल हुन दिइने छैन।”
पोख्रेलका दावीका अनुसार दार्जीलिङ पहाड़का तीनवटा आसनसँगै बंगालकै विधानसभा चुनाउमा हार्ने निश्चित भएपछि नै भाजपा अनि यसको गठबन्धनको डरको सीमा नाघेको छ। यसैकारण भाजपा सांसद राजु बिष्टले जीटीए अध्यक्षको कार्यकाल बढ़ेको विषयमाथि विरोध जनाएका छन्।
“बिष्टले स्थानीय व्यवस्थातर्फ ध्यान नदिएर महाकाल बाबाको कसम खाएर पीपीएस दिलाउँछु र गोर्खालाई जनजातिको दर्जा दिलाउने गरेको वाचा पूरा गरेको असल हुनेछ”, केशवराज पोख्रेलले थप भनेका छन्, “सांसद राजु बिष्टले 2019-मा पीपीएसको नाममा लोकसभाको चुनाउ जितेपछि दार्जीलिङ नगरपालिकामाथि आक्रमण दार्जीलिङका लागि उनको पहिलो उपहार हो। भाजपाको षड़यन्त्रका कारण आज दार्जीलिङ नगरपालिका बाबुहरूको देखरेखमा चल्न परिरहेको छ। जसको कारण दार्जीलिङवासीले कतिको दुःख पाइरहेका छन्, त्यो दुःख भोग्ने दार्जीलिङका बासिन्दा, व्यापारी, होटल व्यवसायी आदिलाई मात्र थाह छ।”
उनका अनुसार दार्जीलिङ नगरपालिका लथालिङ्ग पार्ने सांसद राजु विष्ट र भाजपा नै हुन्।
“दार्जीलिङ पहाड़का प्रतिनिधि भएर पहाड़लाई नै किन ध्वस्त पार्न खोज्नु हुँदैछ? दार्जीलिङलाई सपार्न कि बिगार्न सांसद भएको?”, विनयपन्थी मोर्चा प्रवक्ताले प्रश्न गरेका छन्।
यसका साथै उनले सांसद राजु बिष्टको नजर जीटीए व्यवस्थामाथि नै रहेको पनि आरोप लगाउँदै यसमाथि नजर राख्नुको सट्टा आफ्नो काम ठीकसित गरेको उचित हुने पनि बताएका छन्।
“खोई जनजाति? खोई पीपीएस? पीपीएसले गोर्खाको चिन्हारीको समस्या हल गर्दैन भन्न थाल्यो भाजपाले”, केशवराज पोख्रेलले थप भनेका छन्।