दार्जीलिङ, ७ मार्चः राजेन मुखियाले तृणमूल कङ्ग्रेस छोड़ेका छन्।
उनले आज तृणमूल कङ्ग्रेसबाट राजीनामा दिएका हुन्। उनले आफ्नो राजीनामा पत्र हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईमार्फत् पार्टी सुप्रिमो ममता ब्यानर्जीलाई पठाएको पनि जानकारी गराएका छन्।
पार्टीमा कार्यकर्ता र नेतृत्वको कुनै महत्त्व नरहेकै कारण आफूले तृणमूल कङ्ग्रेस छोड़ेको मुखियाले स्पष्ट पारे।
उनका अनुसार ज्यानै जोखिममा राखेर पार्टी गर्दा पनि कुनै मूल्याङ्कन नभएपछि नै राजीनामा दिएको हो।
यसका साथै राजेन मुखियाले अन्य कार्यकर्ता र नेतृत्वहरूलाई यसबारे सोच्ने अनुरोध गरे।
तृणमूल कङ्ग्रेसबाट राजीनामा दिए तापनि अन्य दलमा गइहाल्नेबारे भने अहिले नै निर्णय लिइनहालेको पनि राजेन मुखियाको भनाइ छ।
यद्यपि आउँदा दिनमा यसबारे सोच विचार गरी, अन्यसँग सरसल्लाह गरेर निर्णय गर्ने पनि उनले बताएका छन्।
उल्लेखनीय छ, आउँदो विधानसभा चुनाउमा पहाड़का तीनवटा सिटमा आफ्नो उम्मेदवार नउठाउने पार्टी हाइकमान्डले निर्णय लिएपछि हिल तृणमूल कङ्ग्रेसको एक वर्ग असन्तुष्ट बनेको छ।