दार्जीलिङ, ७ मार्चः मणिपुरका मुख्यमन्त्री एन. वीरेन सिंहले इम्फाल वेस्ट जिल्लाअन्तर्गत् काङ्लातोङ्गबीमा स्वतन्त्र सङ्ग्रामी निरञ्जनसिंह छेत्रीको सालिक अनावरण गरे।
सुबेदार निरञ्जनसिंह छेत्री देश स्वतन्त्रताका लागि आफ्नो प्राणको बलिदान दिने पहिलो गोर्खा शहीद थिए।
उनी मणिपुरका जुबराज टिकेन्द्रजीत सिंहको नेतृत्वमा नेटिभ फोर्समा सामेल भएका थिए भने जुबराज टिकेन्द्रजीत सिंह स्वयंले छेत्रीलाई सुबेदारको सम्मान प्रदान गरेका थिए।
सुबेदार निरञ्जनसिंह छेत्रीलाई ब्रिटिश सरकारले ८ जून, १८९१ मा मृत्युदण्ड दिएको थियो। मृत्युदण्डअघि उनले भनेका थिए, -“मेरो जन्मभूमि मेरो मातृभूमि हो। यस भूमिको म लागि मर्न, साथै मार्न पनि तयार छु….. तर म आफ्नो भूमिको समर्पण र पराधीनता स्वीकार गर्न कदापि तयार छुइनँ।”
‘सुबेदार निरञ्जनसिंह छेत्रीको जीवन, राष्ट्र निर्माणमा गोर्खा समुदायको योगदानको उदाहरण र प्रमाण हो। अनि उनको बलिदानले हाम्रा युवाहरूलाई हाम्रो राष्ट्रको क्षेत्रीय अखण्डता अक्षुण्ण राख्न तथा यसका नागरिकहरूको भलोको दिशामा सदैव अग्रसर भई योगदान गर्न उत्प्रेरित गरिराखेको छ’, सांसद राजु बिष्टले भनेका छन्।
यसका साथै उनले आजका दिन देशभरि छरिएर बसेका गोर्खाहरूका लागि एक ऐतिहासिक दिन रहेको बताएका छन्।
सालिक अनावरण कार्यक्रममा भारतीय गोर्खा परिसङ्घ, विद्यार्थी सङ्घलगायत स्थानीय जनप्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।