दार्जीलिङ, 8 मार्चः चुनौतीबाट भाग्न होइन, स्वीकार गर्नुपर्छ भन्ने मूल मन्त्रलाई आत्मसात गरेर आज दार्जीलिङ हेडन हलले अन्तर्राष्ट्रिय नारी दिवस पालन गऱ्यो।
दार्जीलिङ नगरपालिकाको विशेष सहयोगमा पालन गरिएको यस कार्यक्रममा नारी सशक्तिकरणलाई विशेष महत्त्व दिइएको थियो।
यसैले स्थानीय चौरस्तामा हेडन हलसित जोड़िएका विभिन्न स्वनिर्भर दलका महिला सदस्यहरूले भाग लिएका थिए, जसले चौरस्तामा विभिन्न खाद्य सामग्रीका स्टलहरू थापेका थिए भने जसबाट सङ्ग्रह भएको राशिबाट नारीहरूकै उत्थान वा विकास गरिने योजना बनाइएको हेडन हलकी मदर एण्ड चाइल्ड वेलफेयर प्रभारी सिस्टर छुङ्कुले भनिन्, “चौरास्तामा आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चौरस्तामा एक मेला नै लगाइएको छ। जसबाट नारीहरू स्वनिर्भर बन्न सकोस् भन्ने यसको मूल उद्देश्य हो। नारीहरूलाई स्वनिर्भर बन्न प्रोत्साहित तुल्याउनका लागि पनि यस कार्यक्रमको आयोजन गरिएको हो।”
नारी सशक्तिकरणका कार्यक्रमहरू दार्जीलिङसँगै कालेबुङ, सिलगढ़ी तथा अन्य क्षेत्रमा पनि गरिरहेको उनले बताइन्।
यसका साथै उनले यसपालिको अन्तर्राष्ट्रिय नारी दिवसको मूल मन्त्र चुनौतीलाई स्वीकार गर्नु राखिएको बताउँदै चुनौतीलाई स्वीकार गरे मात्रै कोही पनि सफल बन्न सक्छ भन्ने बताइन्।
“नारीले घर, समाज, देश सम्हाल्न पर्दा चुनौती लिनुपर्छ र त्यस चुनौतीबाट भागे जीवनमा कुनै सफलता हासिल गर्न सकिँदैन”, उनले थपिन्।