दार्जीलिङ, 9 मार्चः विमल गुरुङले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीबाट गोर्खाल्याण्डको माग उठाउने नाटकको अनुमति लिएपछि नै अहिले उनले दार्जीलिङ पहाड़मा गोर्खाल्याण्ड भनिरहेको गोरामुमो नेता अजय एड्वर्डले आरोप लगाए।
एड्वर्डले भने, “गोजमुमो अध्यक्ष विमल गुरुङलाई तीन महिनाअघिसम्म माया गर्नुको मूल कारण उनले आफ्ना स्वाभिमान बँचाएर राखेका थिए। गोर्खाल्याण्डको मुद्दालाई साँचो प्रकारले उठाइरहेका थिए। तर, उनले गोर्खाल्याण्डको मुद्दालाई जस्तो राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको खुट्टाअघि समर्पण गरेर दार्जीलिङ पहाड़ फर्किए, तब जनताले उनलाई पुज्न पनि छोड़िसकेका छन्। यसैले वर्तमान समयमा विमल गुरुङपन्थी गोजमुमोका समर्थकहरू एकपछि अर्को गर्दै गोरामुमोमा सामेल भइरहेका छन्।”
उनका अनुसार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ पहाड़का तीनवटा आसन गोजमुमो 1 र 2-का लागि खुल्ला छोड्नुका कारण चित पनि मेरै-पट पनि मेरै भन्ने मानसिकता हो।
“यता जुन-सुकै पार्टीले जितोस्, तर जित्ने पार्टीले तृणमूल कङ्ग्रेसलाई नै सघाउनेछ भन्ने तृणमूल कङ्ग्रेस नेतृको सोचाइ हो। तर यी दुइ पार्टीबाट दार्जीलिङ पहाड़का जनता दिक्क बनिसकेका छन्, यसको जवाब जनताले आउँदो विधानसभा चुनाउमा नै दिनेछन्”, एड्वर्डले थपे, “अब विमल गुरुङले अलग राज्य गोर्खाल्याण्डको मुद्दा उठाउने मौलिक अधिकार पनि गुमाइसकेका छन्। किनभने, उनले यो मुद्दालाई तृणमूल कङ्ग्रेस नेतृ ममता ब्यानर्जीको खुट्टाअघि राखिसकेका छन्। यदि उनले दुइ महिना मात्रै पर्खिएको भए धेरै राम्रो हुनेथियो। उनको स्वाभिमान थियो, इज्जत थियो; तर ती सबै स्वाहा भयो। जनताले केवल छुट्टै राज्य गोर्खाल्याण्डका लागि माया गरेका थिए, उनको अनुहार हेरेर होइन।”
यसैबीच, उनले दार्जीलिङ पहाड़का तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूलाई पनि आह्वान गर्दै तृणमूल कङ्ग्रेसको विषयमा गम्भीरतासित सोच्ने अपील गरे।
अजय एड्वर्डले थपे, “के दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूलाई तृणमूल कङ्ग्रेसका शीर्ष नेतृत्वहरूले माया गर्छन्? 2017-मा उनीहरूले महासङ्कटको सामना गरे, तर चुनाउको समय उनीहरूले एउटा टिकटसम्म पनि पाएनन्। के यही हो तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूलाई शीर्ष नेताहरूको माया?”
यसरी नै उनले पुनः गोजमुमो अध्यक्ष विमल गुरुङमाथि कटाक्ष प्रहार गर्दै 2017-को आन्दोलन जीटीएमा अडिट गर्ने सम्भावना रहँदा शुरू गरिएको बताए।
गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले आन्दोलनको समय सबैभन्दा पहिले जीटीएमा आएको 600 करोड़को हिसाब-किताब राखिएको कार्यालय नै जलाइएको पनि आरोप लगाए।
यसैले अब दार्जीलिङ पहाड़का जनताले गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई मौका दिनुपर्ने पनि बताए।