स्वतन्त्र उम्मेदवारका रूपमा चुनाउ लड़्ने सुरज गुरुङको घोषणा

0
990

दार्जीलिङ, ११ मार्चः चर्चित युवा साहित्यकार सुरज गुरुङ उर्फ सुरज धड़कनले विधानससभा चुनाउमा स्वतन्त्र उम्मेदवारको रूपमा दार्जीलिङ सिटबाट खड़ा हुने घोषणा गरेका छन्।

उनले आउँदो २५ मार्चका दिन नामाङ्कन-पत्र भर्ने पनि बताएका छन्।

पहाड़का  सम्पूर्ण स्वाभिमानी शिक्षित जमात र वर्षैभरि पसिना बगाएर पनि सुखको अनुभूति कहिल्यै गर्न नसकेका चियाश्रमिकहरूको पक्षमा चुनाउ लड़्ने निर्णय लिएको बताएका छन्।

गुरुङले एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘म सुरज धड़कन, यसपल्टको विधान चुनाउमा दार्जीलिङ निर्वाचन क्षेत्रबाट निर्दलीय प्रतिद्वन्द्वीका रूपमा आफ्नो उम्मेद्वारिता घोषणा गर्दछु।’

उनले विज्ञप्तिमा थप भनेका छन्, ‘म कुनै नेता होइन र नेता हुनका लागि कसरत गरेको पनि होइन। जब आफ्नो जाति र समाजको भविष्य सम्झन्छु, शिक्षित युवाहरूका पलायनवृत्ति सम्झन्छु र चियाश्रमिकहरूको चर्को परिश्रम सम्झन्छु तब मन कुड़िएर आउँछ। हामी युगौँदेखि नै बुर्जुवा एवं रूढ़ राजनीतिक संस्कारभित्र पल प्रतिपल मर्दै बाँचिरहेको अवस्थामा छौँ।’

गुरुङका अनुसार पहाड़का नेतृत्वहरूले भाषणमा मात्र ठूल्ठूला कुरा हाँक्ने गरेका छन्। तर, आजका दिनसम्म यहाँको शिक्षा प्रणाली, युवाहरूको भविष्य र चियाश्रमिकहरूका समस्यालाई गम्भीरतापूर्वक लिने काम गरेका छैनन्।

उनको आरोप छ-पहाड़का नेतृत्वहरूले घरी घरी जनताको भावनालाई कुठाराघात गरेका छन्।

‘हामीलाई केवल भोटको मशिन, झण्डा बोक्ने वाहक र जिन्दावाद-मुर्दावाद भन्ने शक्तिका रूपमा मात्र प्रयोग गरिएको छ। यसैले मेरो उम्मेदवारिता पहाड़को यही रूढ़ राजनीतिक संस्कारमाथि चुनौती साथै शिक्षित जमातको समस्या र चियाश्रमिकहरूको जीवनशैलीमा परिवर्तनका लागि क्रान्तिको आह्वान हो’, सुरज गुरुङले थप भनेका छन्, ‘म चाहन्छु- धेरैभन्दा धेरै सङ्ख्यामा शिक्षित युवाहरू यस क्रान्तिको हिस्सा बनोस्। धेरैभन्दा धेरै शिक्षित युवाहरू नामाङ्कनका लागि अघि आओस्।’

उनले विज्ञप्तिमा थप भनेका छन्, ‘हुन त  राजनीतिको कुरा आउँदा धेरैजसो अनुभवलाई मापदण्डका रूपमा हेर्नेगरिन्छ। तर मेरो विचारमा अनुभवभन्दा ठूलो नियत हो। यदि नियत नै ठीक छैन भने अनुभवको के काम? हामीले धेरै लामो समयदेखि अनुभव मात्र भएका तर नियत ठीक नभएकाहरूलाई जिताउँदै आयौँ र हाम्रो अवस्था जस्ताको त्यस्तै छ। म जाति र माटोको नाममा ठूल्ठूला कुरा गर्दिनँ। जाति र माटोको माया मनभित्र छँदैछ। यद्यपि यस समय देखापरेका थुप्रै समस्यामध्ये यहाँको शिक्षा व्यवस्था र चियाबारी सबैभन्दा जल्दोबल्दो समस्या हो। एकातिर भ्रष्टाचार, भाइभतिजावाद र चहितावादको कुसंस्कारभित्र यहाँको शिक्षा प्रणाली मरणासन्न अवस्थामा पुगिसकेको छ भने अर्कोतिर मालिकहरूको शोषक प्रवृत्ति र सरकारको उदासीन नीतिभित्र चियाश्रमिकहरूको जीवन नर्कतुल्य बनिसकेको छ। यी दुवै विषयमा यहाँका नेताहरूले के कति काम गरे? यसको हिसाबकिताब गर्ने समय आइसकेको छ। अबको राजनीतिदेखि शिक्षत र सचेत युवा टाढ़िनु हुँदैन। हामीले हाम्रो उपस्थिति बोध गराउन सकेनौँ भने बाँच्नु र मर्नुबीच कुनै पार्थक्य नै रहनेछैन। हाम्रा समस्याहरू धेरै छन्, जसलाई भिख मागेको जस्तो फ्यातुलो पाराले होइन, तर शक्तिशाली आवाजका रूपमा राख्न आवश्यक छ। यसैले आज महाशिवरात्रि पूजाको छेक पारेर पहाड़का शिक्षित युवाहरूले पनि परिवर्तनका लागि तेस्रो आँखा खोल्न सक्नुपर्छ भन्ने आह्वानसहित मैले मेरो उम्मेदवारिता घोषणा गरेको हुँ। म मेरो नामाङ्कन-पत्र आमागी २५ मार्चका दिन भर्नेछु, जसले पहाड़का शिक्षित र सचेत युवाहरूका लागि एउटा अवकास निर्माण गर्नेछ, मेरो विश्वास छ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here