सिलगढ़ी, ११ मार्चः बङ्गाल विधानसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा)-ले २०० भन्दा बढ़ी सिट जित्ने दावीलाई दार्जीलिङ सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टले दोहोऱ्याए।
उनका दावीका अनुसार बङ्गालका जनताले परिवर्तनको मन बनाइसकेका छन्। यसैले पनि यसपटक प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बङ्गालमा भाजपाको सरकार बन्नेछ।
यसअवधि उनले सिलगढ़ीका भाजपा उम्मेदवारबारे अहिले छलफल भइरहेको पनि जानकारी गराए। बिष्टका अनुसार सिलगढ़ीलाई जान्ने/बुझ्ने, यहाँको समस्यासँग अवगत रहेका तथा सिलगढ़ीका जनताको अपेक्षालाई पूरा गर्ने उम्मेदवार नै भाजपाले दिने बताए।
“भाजपा कुनै प्राइभेट लिमिटेड कम्पनी होइन। हामी सबैलाई थाह छ, तृणमूल कङ्ग्रेस प्राइभेट लिमिटेड कम्पनी हो, जसमा दुइजना मात्र शेयरहोल्डर छन्”, बिष्टले थपे, “तर भाजपामा यस्तो पद्धति छैन। हाम्रो केन्द्र र राज्यका नेतृत्वले उम्मेदवार तय गर्नेछन्। र चाँड़ो घोषणा हुनेछ।”
अर्कोतिर, उनले तृणमूल कङ्ग्रेस सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।
यसैबीच आज राजु बिष्टले आज सिलगढ़ीमा भाजपाको चुनाउ प्रचार शुरू गरेका छन्। पार्टीले सिलगढ़ीका लागि उम्मेदवारको घोषणा अहिलेसम्म गरे तापनि भाजपाले चुनाउ प्रचार शुरू गरेको छ।
सांसद बिष्टले आज सिलगढ़ी नगरनिगमको वार्ड नम्बर-१० मा भित्ता लेखनद्वारा चुनाउ प्रचार शुरू गरेका हुन्।