विमलपन्थी मोर्चा र विनयपन्थी मोर्चालाई मिल्नका लागि यूसीएमओले दियो अल्टिमेटम

0
1139

दार्जीलिङ, 12 मार्चः युनाइटेड क्रिश्‍चियन माइनोरिटी अर्गनाइजेशन (यूसीएमओ)-ले विमल गुरुङ र विनय तामाङलाई आउँदो 17 मार्चभित्र एक हुने अल्टिमेटम दिएको छ।

यदि उनीहरू एकबद्ध भएर राज्यको सत्तारूढ़ तृणमूल कङ्ग्रेसलाई यसपालिको विधानसभा चुनाउमा लाभ पुऱ्याउन नसके उनीहरूको विरोधमा यूसीएमओले दार्जीलिङ पहाड़का विभिन्न अल्पसङ्ख्यक समुदायसित मिलेर आफ्नै उम्मेदवार खड़ा गर्ने चेताउनी पनि दिएको छ।

यसविषय लिएर आज यूसीएमओले दार्जीलिङका विभिन्न अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरूलाई लिएर एक बैठकको आयोजन गरेको थियो।

बैठकमा बौद्ध, ईसाई, बिहारी, मुस्लिम तथा अन्य समुदायका प्रतिनिधिहरूले भाग लिएको यूसीएमओ प्रमुख फादर सलोमन सुब्बाले बताएका छन्।

“राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यका 291 वाट विधानसभा आसनमा तृणमूल कङ्ग्रेसका उम्मेदवारहरूको नाम घोषणा गरिसकेकी छन्। तर उनले दार्जीलिङ पहाड़का तीनवटा आसनलाई आफ्ना साथी पार्टीका लागि भनेर खुल्ला राखिदिएकी छन्। तर यी दुइवटा साथी पार्टीहरू मिल्न नसकेको कारण तृणमूल समर्थित यूसीएमओलाई पनि स्पष्ट निर्णय लिन गाह्रो परिरहेको छ”, उनले थपे, “यति मात्रै होइन, यी दुइवटा पार्टीको अमेलपनका कारण तृणमूल कङ्ग्रेसलाई नोक्सान हुने सम्भावना प्रबल बन्दै गइरहेको छ। यसैले आगामी 17 मार्चभित्र पनि यी दुई पार्टी एक भएर उम्मेदवार उठाउने निर्णय नलिए यूसीएमओ दार्जीलिङ पहाड़का विभिन्न अल्पसङ्ख्यक समुदायसित मिलेर आफ्नै उम्मेदवार खड़ा गर्न बाध्य हुनेछ।”

सुब्बाले दार्जीलिङ विधानसभा आसनमा मात्रै यूसीएमओका 25 हजार, खरसाङमा 19 हजार मतदाता सदस्य रहनका साथै कालेबुङ जिल्लामा 146 वटा चर्च यूसीएमओसित जड़ित रहेको पनि दावी गरे।

यी मतदाता साथै चर्चका सदस्यहरूका मत आगामी विधानसभा चुनाउमा महत्वपूर्ण बन्ने पनि उनको दावी छ।

सुब्बाले थपे, “दार्जीलिङ पहाड़को राजनैतिक स्थितिको कारण तृणमूल कङ्ग्रेस जहिले पनि पहाड़मा भोट हार्ने गरेको छ, तर त्यसको जिम्मेवार प्रत्येक चुनाउमा नै विभिन्न जातगत विकास बोर्डहरूको टाउकोमा आउने गरेको छ। हाल विमल गुरुङपन्थी गोजमुमो र विनय तामाङपन्थी गोजमुमोको लक्ष्य एउटै हो, राज्यमा पुनः तृणमूल कङ्ग्रेसको सरकार ल्याउनु अनि पहाड़का तीनवटा आसनमा जीत हासिल गरेपछि त्यसै सरकारलाई सहयोग गर्नु हो। तर, यी दुई पार्टीको झगड़ाले विरोधी पार्टीलाई नै फाइदा पुग्ने लगभग स्पष्ट छ। यसैले अब यी दुई पार्टीले राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने उखानलाई आत्मसात गरेर अघि बढ्नुपर्छ।”

यसका साथै अहिले यूसीएमओको अवस्था स्याण्डवीच जस्तो बनिरहेको बताउँदै भने, “गोजमुमो 1 (विमलपन्थी)-लाई सघायो भने गोजमुमो 2 (विनयपन्थी)-सित नराम्रो हुने, अर्कोलाई सघाउने अर्कोसित। यसैले अब हिल तृणमूल कङ्ग्रेस, गोजमुमो 1 र 2-ले पहाड़का तीनवटा आसनमा 1-1 जना उम्मेद्वार खड़ा गरे, झगड़ा पनि समाप्त हुनेछ अनि जीत पनि निश्‍चित हुनेछ। र यस्तै पनि गर्नुपर्छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here