दार्जीलिङ, १२ मार्चः साहित्यकार ध्रुब चौहानका बाल एकांकी सङ्ग्रह अक्षर उज्यालोले यसवर्षको साहित्य अकादमी बाल साहित्य पुरस्कार प्राप्त गरेको छ।
२२ जुलाई १९६९-मा जन्मेका दार्जीलिङको धजेनिवासी चौहानको अक्षर उज्यालो (एकांकी सङ्ग्रह)-लगायत केन्द्र, बिन्दु अनि धर्साहरू (मुक्तक सङ्ग्रह), वेदनाको धनी यो मन (गीत सङ्ग्रह), खोल (कथा सङ्ग्रह), पेटेन्ट आँसु (कविता सङ्ग्रह), झण्डामुन्तिर (कथा सङ्ग्रह) रह वनबास (कथा सङ्ग्रह) प्रकाशित छन्।
जानकारीका अनुसार बाल साहित्य पुरस्कारका लागि जुरीमा ज्ञानबहादुर छेत्री, लोकनाथ उपाध्याय चापागाइँ र डा. कविता लामा थिए।
अर्कोतिर, साहित्य अकादमी युवा पुरस्कार असमनिवासी युवा लेखक अञ्जन बास्कोटाले निबन्ध कृति दृष्टि-मा पाएका छन्। अञ्जन उपाध्याय असमको विश्वनाथ जिल्लानिवासी हुन्।
उनको दृष्टि निबन्ध २०१६-मा प्रकाशित भएको हो। उनले नेपाली भाषाबाहेक, असमिया, अङ्ग्रेजी र हिन्दीमा पनि लेख्छन्।
असमिया भाषामा त उनको कृति नै प्रकाशित भइसकेको छ।
त्यसैगरी नेपाली भाषामा उनको आत्मानुसन्धान (कविता सङ्ग्रह) पनि प्रकाशित छन्।
जानकारीका अनुसार युवा साहित्य पुरस्कारका लागि जुरीमा सूर्यप्रसाद अधिकारी, नन्द हाङखिम र विजय बान्तवा रहेका थिए।