गान्तोक, १३ मार्चः केही दिनअघि सिक्किम विश्वविद्यालयको अङ्ग्रेजी विभागकी छात्रामाथि भएको यौन उत्पीड़नको घटनाप्रति एसडीएफको विद्यार्थी मोर्चाले तीखो शब्दमा भर्त्सना जनाएको छ।
साथै सिक्किमेली समाजलाई दूषित र कलङ्कलित पार्ने यस घटनाबारे सिक्किम विश्वविद्यालयका शोधार्थी एवं लोकसभा इन्द्रहाङ सुब्बा आजसम्म एकै शब्द नबोलेकोमा एसडीएफ विद्यार्थी मोर्चाले आलोचना गरेको छ।
‘वर्तमान राज्य सरकारका लोकसभा सांसद इन्द्रहाङ सुब्बा पनि सिक्किम विश्वविद्यालयका एक शोधार्थी हुन्। विश्वविद्यालयमा घटित दुर्भाग्यपूर्ण घटनाबारे सांसद सुब्बा किन बोल्दैनन्? नारीको अस्मिता, मर्यादा र भविष्यमाथि ठूलो प्रहार भएको घटनाले के सांसद सुब्बालाई छुँदैन?’, आज एक प्रेस विज्ञप्ति जारी गरी एसडीएफ विद्यार्थी मोर्चाका सदस्य राम गुरुङले प्रश्न गरेका छन्।
उनका अनुसार सिक्किम केन्द्रिय विश्वविद्यालयमा नारीहरूप्रतिको यौन हिंसा र मानसिक प्रताड़नाजस्ता आपराधिक घटनाहरू पूर्ण रूपले समाप्त हुनुको सट्टा बढ़ेर जानु अत्यन्त निन्दनीय विषय हो।
यस्ता घटनाको एसडीएफ विद्यार्थी मोर्चाले जोड़दार रूपमा प्रतिकार गर्ने पनि उनले बताएका छन्।
‘सिक्किमेली समाजलाई दूषित तुल्याउने यस प्रकारको निन्दनीय घटनामा वृद्धि हुँदा पनि राज्य सरकार र सिक्किम केन्द्रिय विश्वविद्यालय प्रशासन किन मौन छ? विश्वविद्यालयको आन्तरिक अनुशासन नियन्त्रण निकाय किन मौन छ? विश्वविद्यालयको आन्तरिक अनुशासन नियन्त्रण निकायले छानबिन गरेर पाइएको दोषीलाई उचित दण्ड किन दिँदैन? राज्य सरकार र विश्वविद्यालय प्रशासनको मौनताले विश्वविद्यालयमा असुरक्षाको परिवेश सिर्जना भएको छ’, गुरुङले विज्ञप्तिमा भनेका छन्, ‘सिक्किमेली समाजलाई प्रदूषित र कलङ्कित तुल्याउने यस्ता आपराधिक र असामाजिक क्रियाकलाप रोक्न सम्पूर्ण नागरिकलाई सजक र सतर्क रहन विद्यार्थी मोर्चा आग्रह गर्दछ। राज्य सरकार र विश्वविद्यालय प्रशासनले यस्ता आपराधिक गतिविधि रोक्नका लागि समयमा उचित हस्तक्षेप गर्नुपर्दछ। आउँदा दिनहरूमा यस प्रकारको आपराधिक घटनाहरू नदोहोरियोस् भनी हामी चेताउनी दिँदछौं। प्रत्येक विद्यार्थी र शोधार्थीहरूले सुरक्षित र सम्मानित परिवेशमा उच्च शिक्षा ग्रहण गर्ने परिवेश सुनिश्चित गरिदिने दायित्व राज्य सरकार र विश्वविद्यालय प्रशासनले कुशलतापूर्वक निर्वाह गर्नुपर्दछ। दोषीलाई समाजमा दृष्टान्त हुने गरी दण्ड दिनुपर्दछ भनी विद्यार्थी मोर्चा माग पनि राख्दछ।’
उनले राज्यकै उच्च शैक्षिक संस्थानमा नारीमाथि यौन हिंसा तथा मानसिक प्रताड़नाको घटना घट्नु अत्यन्त दुर्भाग्य घटना रहेको बताएका छन्।
यसैगरी यो घटनाले सिक्किमेली समाजलाई खल्बाउनका साथै दूषित र कलङ्कितसमेत बनाएको गुरुङले बताएका छन्।
साथै सिक्किम विश्वविद्यालय राज्यकै एक उच्च शैक्षिक संस्थान रहेकाले यस संस्थानमा शिक्षार्जन गर्ने प्रत्येक विद्यार्थी र शोधार्थीहरूका लागि सुरक्षित र अनुकूल परिवेश सुनिश्चित गरिनुपर्ने माग पनि एसडीएफ विद्यार्थी मोर्चाले गरेको छ।