मिरिक १३ मार्चः सात समुद्रपारि इजरायल देशमा कार्यरत भारतीय गोर्खा कामदारहरूको सङ्गठन इन्डियन गोर्खाज् कम्पनी आफ्नो महासहयोग अभियानअन्तर्गत विभिन्न ठाउँका सातजना रोगीलाई उपचारका लागि कुल ५ लाख २८ हजार ७३१ रुपियाँ आर्थिक सहयोगस्वरूप प्रदान गरेको छ।
आज रिपोर्टर्स क्लब अव् मिरिकको कार्यालयमा आयोजित एक कार्यक्रमबीच इन्डियन गोर्खाज कम्पनीले पठाएको उक्त रुपियाँ ती रोगीहरूका परिवारका सदस्यहरू क्रमैले सिवना तामाङ, निमदोर्जे लेप्चा, जानकी प्रधान, टीका मगर, फिरोज तामाङलाई आज उक्त सहयोगराशि प्रदान गरियो।
उनीहरूलाई समाजसेवी क्रमैले उर्मिला लामा, एरोन शर्मा, मनोज शर्मा, विश्वास राई, बानिरा सुब्बा तथा रिपोर्टर्स क्लब अव् मिरिकका अध्यक्ष मुस्कान खेसाङ राईको बाहुलीबाट वितरण गरिएको हो।
रिपोर्टर्स क्लब अव् मिरिकका मूल सचिव प्रवेश हाङखिमले सञ्चालन गरेको कार्यक्रमलाई क्लबका प्रमुख संरक्षक एमबी गजमेरले अध्यक्षता गरेका थिए।
यसबारे जानकारी गराउँदै इन्डियन गोर्खाज कम्पनी इजरायलका प्रबन्ध निर्देशक नरेन थापा लुङ्गेलीले बताएअनुसार सङ्गठनले सङ्ग्रह गरेको कुल राशि ५ लाख २८ हजार ७३१ -बाट अघिबाटै मराम बजार मणिपुरनिवासी रोगी आशिष छेत्रीलाई ७२ हजार १४८ रुपियाँ तथा पैनाकुमारी खोप्रेलनिवासी रोगी ललिता दर्जीलाई ९० हजार २१७ रुपियाँ प्रदान गरिएको छ।
उनका अनुसार आज सोनादानिवासी नशाका रोगी रवि तामाङ, पुलुङदुङ लेप्चा गाउँनिवासी मुटु रोगी नरमित लेप्चा, आलुबारी दार्जीलिङनिवासी मृगौला रोगी लोप्साङ योल्मो अनि छोटाटिङलिङ मिरिकनिवासी क्यान्सर रोगी सीता तामाङको उपचारका लागि प्रत्येकलाई ६८ हजार ४६९ रुपियाँ तथा छोटाटिङलिङ मिरिकनिवासी क्यानसर रोगी प्रयास मगरको उपचारका लागि ९२ हजार ४९० रुपियाँ आर्थिक सहयोगस्वरूप प्रदान गरियो।
यसभन्दा अघि नेपालकी बालिका सियोना श्रेष्ठलाई इन्डियन गोर्खाज कम्पनीले ३ लाख २० हजार ५५६ रुपियाँ ८९ पैसा , मणिपुरका सरिता अधिकारीलाई २ लाख १ हजार ५ सय रुपियाँ तथा नामरिङ चियाकमाननिवासी अनमोल गुरुङको उपचारका लागि पनि २ लाख ३० हजार ७६२ रुपियाँ प्रदान गरेको उनले जानकारी गराए।
हाल इजरायलमा रहेका मिरिकनिवासी नरेन थापा लुङ्गेलीको सक्रियतामा गठन भएको भारतीय गोर्खा कामदारहरूको सङ्गठन इन्डियन गोर्खाज कम्पनीले हालसम्म धेरै सामाजिक सेवाकार्य गरिसकेको छ।
कर्मक्षेत्रमा बसेर जन्मथलोका लागि केही गर्ने महत् सोच यो सङ्गठनको छ। त्यसैले पनि रोगीहरूका उपचारका लागि इन्डियन गोर्खाज कम्पनीले निरन्तर सहयोगको हात बढ़ाउँदै आइरहेको छ।
“विगत र वर्तमानमा मात्रै होइन, तर भविष्यमा पनि यो सङ्गठनले यस्तै सहयोगको कार्य निरन्तर गरिरहनेछ”, उनले भने।
यसका साथै धेरै टाढ़ा बसेर पनि यसरी सहयोग गर्न पाउँदा धेरै खुशी लाग्ने गरेको पनि बताए।
उनका अनुसार इजरायल गोर्खाज् कम्पनीले रोगीहरूलाई मात्र सहयोग नगरेर आफ्नो भाषा, साहित्य, संस्कार-संस्कृति र गीत-सङ्गीत आदिको पनि जगेर्ना गर्न पनि सधैँ अग्रसर रहेको छ।
यसैगरी उनले महासहयोग अभियानबारे जानकारी गराउँदै भने, “यसवर्ष हामीले नयाँ वर्षमा मोजमस्तीमा रुपियाँ खर्च गरेनौँ; धेरै रोगीहरूले उपचारका लागि हामीलाई सहयोग मागेपछि हामीले महासहयोग अभियानअन्तर्गत रुपियाँ सङ्कलन गऱ्यौँ। सङ्कलन भएको उक्त राशि सातजना रोगीका उपचारका लागि हामीले प्रदान गरेका हौँ।
उनले थप बताएअनुसार महासहयोग अभियानमा आर्थिक सङ्कलन गर्न सङ्गठनका नारी एकाइकी संयोजिका सुजता लेप्चा (कालेबुङ, टिस्टा) कार्यकारी सदस्य सुमन तामाङ मोक्तान (दार्जीलिङ) सदस्यहरू क्रमैले रितु सुब्बा (मिरिक), रिता छेत्री (सोनादा), सपना राई (मिरिक), दिपेश छेत्री (मणिपुर), जितेन छेत्री (मणिपुर), ऋचा थिङ (सोनादा), कविता छेत्री (सिलगढ़ी), नरेन थापा (नक्सलबारी) अनि दीपेश तामाङ (मानेभञ्ज्याङ)-को महत्त्वपूर्ण भूमिका रहेको छ।
सहयोग राशि प्राप्त गरेपछि रोगीहरूका परिवारले इन्डियन गोर्खाज कम्पनीप्रति आभार प्रकट गर्दै सबैको प्रगतिको कामना गरेका छन्।
यता, महासहयोग अभियानमा थप टेवा पुऱ्याउन इजरायलमा कार्यरत मिरिकका कतिपय सहृदयीहरूले २४ हजार २२ रुपयाँ प्रदान गरेपछि मिरिक छोटा टिङलिङनिवासी प्रयास मगरलाई ९२ हजार ४९० रुपियाँ प्रदान गरिएको हो।
यसअवसरमा रिपोर्टर्स क्लब अव् मिरिकका सञ्चारकर्मी विनोद प्रसाईं, मदन बल तामाङ, अजित विश्व, पेमा लक्ष्मी तामाङ आदि पनि उपस्थित थिए।