दार्जीलिङ, 18 मार्च: माकपा र कङ्ग्रेसले दार्जीलिङ पहाड़ अनि समतलका सम्पूर्ण आसनमा आफ्ना उम्मेदवारहरूको घोषणा गरेका छन्। जसअनुसार, दार्जीलिङबाट माकपाका गौतमराज राई, खरसाङबाट उत्तम शर्मा, सिलगढ़ीबाट अशोक भट्टाचार्य, फाँसीदेवाबाट सुनिल तिर्की, मतिगढ़ा-नक्सलबाड़ीबाट शङ्कर मालाकारलाई उम्मेदवार बनाइएको माकपा नेता एवं पूर्व सांसद समन पाठकले जानकारी गराए।
उनले बताएअनुसार, दार्जीलिङ र खरसाङबाट माकपा वा बाममोर्चाबाट उम्मेदवार खड़ा गरिएको छ भने कालेबुङ आसनबाट कङ्ग्रेसले आफ्नो उम्मेदवार उठाउने तय गरेको छ।
यद्यपि, कालेबुङ आसनमा कङ्ग्रेसले कसलाई आफ्नो उम्मेद्वार बनाउने हो, त्यो स्पष्ट भएको छैन।
पाठकले भने, “राज्यमा तृणमूल कङ्ग्रेसलाई सत्ताबाट हटाउन अनि भाजपालाई यहाँको सत्तामा आउन नदिन यसपालि माकपा र कङ्ग्रेसले राज्यका 294 वटा आसनमा संयुक्तरूपले उम्मेदवारहरू खड़ा गर्ने निर्णय लिएका छन्। यसैले दार्जीलिङ पहाड़ अनि समतलका आसनहरूमा पनि यी दुई पार्टीले आसन बाँड़ेर उम्मेदवार खड़ा गर्ने निर्णय लिएका हुन्।”
यसैबीच, खरसाङ आसनबाट खड़ा भएका माकपा उम्मेद्वार उत्तम शर्माले यसपालिको विधानसभा चुनाउमा निर्वाचित बनेको खण्डमा सर्वप्रथम दार्जीलिङ पहाड़मा पञ्चायत चुनाउ गराउन साथै पहाड़मा पञ्चायती व्यवस्थालाई पुनः स्थापना गर्न ठोस पहल गर्ने वाचा गरेका छन्।
उनले भनेका छन्, “दार्जीलिङ पहाड़मा पञ्चायत चुनाउ नभएको कैयौं वर्ष भइसक्यो, जसको कारण यहाँका ग्रामीण क्षेत्रका जनताले धेरै समस्या भोग्न परिरहेका छन्। यस विषयमाथि वर्तमान राज्यको तृणमूल कङ्ग्रेस सरकारले कुनै ध्यान नै दिएको छैन, न पहाड़का राजनैतिक पार्टीहरूले नै यसमाथि उचित पहल गरिरहेका छन्। यसैले पहाड़मा पञ्चायती व्यवस्था पुनर्बहाल गर्ने विषयलाई पार्टीले यस चुनाउमा आफ्नो मूल मुद्दा बनाएको छ।”
उनले राज्यमा बाममोर्चा-कङ्ग्रेसको संयुक्त सरकार गठन भए 6 महिनाभित्र पहाड़मा पञ्चायत चुनाउ गराउने सङ्कल्प गरिएको पनि बताए।
यसका साथै शर्माले वन बस्ती, चियाबगान अनि सिन्कोना बगानवासी जनतालाई पर्जा-पट्टा दिलाउने पनि वाचा गरे।
यति मात्रै होइन, राज्यमा आफ्नो सरका गठन भएको खण्डमा पहाड़का लागि दह्रो स्वायत्त शासनको व्यवस्था गरिने भएको पनि बताए।
उल्लेखनीय छ, दार्जीलिङ पहाड़का तीनवटा आसनमध्ये 2 वटाबाट माकपाले आफ्नो उम्मेदवारको नाम आज घोषणा गऱ्यो भने भारती तामाङपन्थी अखिल भारतीय गोर्खा लीगले तीनवटै आसनमा आफ्नो उम्मेदवार खड़ा गरिसकेको छ। जसअनुसार, गोर्खा लीगले दार्जीलिङबाट निमा ग्याम्छो शेर्पा, खरसाङबाट विक्रमादि राई अनि कालेबुङबाट उज्ज्वल राईलाई आफ्नो उम्मेदवार बनाएको छ।