गोजमुमोको कोर कमिटीको बैठक, भन्यो – हामी कुनै पनि चुनाउका लागि तयार छौं

0
1031
स्थानीय एक होटलमा सम्पन्न गोजमुमोको केन्द्रिय कोर कमिटीको बैठक। 

दार्जीलिङ, 23 सेप्टेम्बर : आइतवार गोर्खा जनमुक्ति मोर्चाको केन्द्रिय कोर कमिटीको बैठक स्थानीय  एक होटलमा सम्पन्न भयो। सभामा पार्टीका आगामी कार्यक्रम र रणनीतिबारे व्यापक छलफल गरियो। साङ्गठनिक सुदृढ़ीकरण र व्यापक चुनाउमाथि चर्चा परिचर्चा गरिएको बैठकमा गोजमुमो दार्जीलिङ पहाड़मा हुने कुनै पनि चुनाउका लागि तयार रहेको र सबै चुनाउ जित्ने कुरामा ढुक्क बनेको थियो।
बैठकपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता सुरज शर्माले गोजमुमोले पहाड़मा चुनाउ चाहेको बताए। उनले भने, पहाड़मा पञ्चायतदेखि सबै निकायको चुनाउ हुनआवश्यक छ। गोजमुमो चाहन्छ, दार्जीलिङ पहाड़मा पञ्चायत चुनाउ होस्। उनका अनुसार आजको कोर कमिटीको बैठकमा चुनाउलाई चर्चा परिचर्चा गरिएको थियो। पहाड़मा हुने जुनै चुनाउका लागि पनि गोजमुमो तयार देखिएको छ।
बङ्गाल बन्दमा दार्जीलिङ खुल्ला
शर्माले पत्रकार सम्मेलनअवधि केन्द्रको सत्तारूढ़ दल भारतीय जनता पार्टीप्रति कटाक्ष गरे। यसअवधि उनले भाजपाले डाकेको आगामी 26 सेप्टेम्बरको बङ्गाल बन्दमा दार्जीलिङ पहाड़लाई खुल्ला राख्ने पार्टीले घोषणा गरेको बताए। उनले भाजपाले राजनीतिक रोटी सेक्नका लागि आगामी 26 सेप्टेम्बरको दिन बङ्गाल बन्द डाकेको आरोप लगाए।
इस्लामपुरमा भएको घटनामा परेर दुइजना विद्यार्थीको मृत्यु भयो, त्यसको लागि गोजमुमोले पनि शोक व्यक्त गर्छ। तर भाजपाले डाकेको बन्दलाई गोजमुमोले स्वीकार गर्नेछैनगत वर्ष दार्जीलिङ पहाडमा 13 जनाको मृत्यु भयो, तर त्यस समय भाजपाले एक शब्द पनि बोल्ने काम गरेन, गोजमुमो प्रवक्ताले भने, यति मात्रै होइन, गोजमुमो अध्यक्ष विनय तामाङले अघिबाटै दार्जीलिङ पहाडलाई बन्दमुक्त राख्ने घोषणा गरिसकेका छन्। यसैले आगामी 26 सितम्बर दार्जीलिङ पहाड पूर्णरूपले खुल्ला रहनेछ।
पार्टीको स्थापना दिवसमा जीटीएको एकवर्षे उपलब्धि देखाउने
शर्माका अनुसार गोजमुमोले आगामी 7 अक्टोबरको दिन दार्जीलिङ, खरसाङ, कालेबुङका साथै विभिन्न स्थानमा पार्टीले आफ्नो स्थापना दिवस पालन गरी जीटीएको एकवर्षे उपलब्धि जनताअघि राख्नेछ। पार्टी अध्यक्ष विनय तामाङले जीटीएको पदभार लिएको एकवर्ष पुगेको छ। यो एकवर्षभित्र जीटीएले गरेका विकास कार्यहरू र यसको हरहिसाब पार्टीले जनताअघि राख्ने शर्माको भनाइ छ। उनले बताएअनुसार आजको सभामा चियाश्रमिकहरूको जमीनको पर्जा-पट्टा, डीआई फण्डको जमीन आदिबारे पनि व्यापक चर्चा-परिचर्चा भएको थियो।
पञ्चायत चुनाउको पक्षमा मोर्चा
यसैबीच कोर कमिटी सदस्य छिरिङ दाहालले पहाड़मा लामो समयदेखि पञ्चायत चुनाउ नभएकोले ग्रामीण जनताले समुचित सहुलियत नपाइरहेको बताइन्। साथै उनले पहाड़मा पञ्चायत चुनाउ हुनुपर्ने कुरामा जोड़ दिँदै दुईस्तरीय पञ्चायत चुनाउ पहाड़मा गरिनुपर्ने माग गरिन्। उनका अनुसार पहाड़मा जीटीए रहेकोले दुईस्तरीय चुनाउ गराएमा राम्रो हुनेछ। एकस्तरीय चुनाउले जनतालाई कुनै प्रकार सुविधा उपलब्ध गराउँदैन। दाहालले भोलि नै राज्यले जीटीए चुनाउको घोषणा गरे पनि पार्टी तयार रहेको बताउँदै जीटीए चुनाउ जित्ने दाबी गरिन्।
सभामा पार्टी अध्यक्ष विनय तामाङ, महासचिव अनित थापा, दार्जीलिङ र खरसाङका विधायकद्वय क्रमैले अमरसिंह राई र डा. रोहित शर्मालगायत छिरिङ दाहाल, आरपी लामा, नोर्देन लामा, किशोर थापा, सञ्चवीर सुब्बा, आलोककान्त मणि थुलुङ तथा अन्य उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here